ताजा समाचार

असाेज २० गते २०७६

बैंकिङ झण्झटले गाडी किन्ने घटे : अध्यक्ष कुँवर

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसनका अध्यक्ष चन्द्र कुँवरले अटोमोबाइलको ब्यापार ५० प्रतिशतले खस्किएको बताएका छन् ।

उनले विशेषगरि बैंकिङ समस्याका कारणले अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष अटोमोबाइलको ब्यापार खस्किएको दावी गरे ।

एक कुराकानीमा अध्यक्ष कुँवरले चारपांग्रे्रे सवारी साधनको व्यापार निकै घटे पनि २ पांग्रे मोटरसाइकलको भने नघटेको बताए । उनले भने, ‘मोटरसाइलको व्यापार अघिल्ला वर्षको तुलनामा घटेको पनि छैन, बढेको पनि छैन ।

अहिले बैंकहरूले अटो लोनमा निकै कडाई गरेका कारण अटोको व्यापार खस्किएको कुँवरले बताए । उनले भने, ‘५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने बाध्यकारी व्यवस्थाको प्रभाव अटो व्यवसायमा देखिएको छ । त्यतिमात्र होइन गाडी किन्न आउँदा ग्राहकले केवाइसी भर्नुपर्ने, गाडी किन्ने पैसाको स्रोत खोल्नुपर्ने लगायतका झन्झटिला प्रावधानले पनि समस्या निम्त्याएको छ ।’

कुँवरले सरकारको नीतिप्रति पनि खोट लगाएका छन् । सरकारले बुझ्दै नबुझी नीति ल्याएर समस्या भएको उनको दावी छ ।

‘उहाँहरू विदेश जानुहुन्छ अनि त्यहाँ जे छ त्यो यहाँ लागु गर्न खोज्नुहुन्छ । त्यो सिस्टम नेपालमा लागु गर्दा त्यसको असर के हुन्छ भन्ने बारेमा खोजी नीति नगर्दा समस्या देखिएको हो’, कुँवरले भने, ‘प्रभाव मूल्यांकन गरेर मात्र ल्याउनुपर्ने नीति हचुवाको भरमा ल्याइएको छ । नीति ठीक भए पनि शुरुमा व्यवसायी र आम सर्वसाधारण जनतालाई बुझाएर मात्र लागु गर्दा राम्रो हुन्छ ।’

अटोमोबाइलले मात्रै वार्षिक ८४ अर्ब राजश्व तिर्छ तर यति गरिरहँदा पनि किन यस्तो गरिंदैछ बुझ्न नसकिएको अध्यक्ष कुँवरले बताए । यो समस्या समाधानका लागि आफूहरूले पहल गरिरहेको समेत उनले बताए ।

एशोसिएसन विशेषगरी हामी व्यावसायिक हक हितकै लागि स्थापित भएकाले त्यसैमा केन्द्रित रहेर काम गरिरहेको अध्यक्ष कुँवरले जानकारी दिए ।


Loading...