यस पटकको दशैं क्रिकेट प्रेमी नेपालीलाई खुशीको सीमा छैन । नेपाली टिमले एकपछि अर्को जित हासिल गरेपछि नेपाली क्रिकेटप्रेमी खुशी भएका हुन् ।
यसमा नेपाली क्रिकेट टिम धन्यवादको पात्र बनेका छन् । आइतबार हङकङमाथि शानदार जित हासिल गरेको नेपालले सोमबार पनि नेदरल्याण्डमाथि रोमाञ्चक जित हासिल गरेको छ ।
करन केसीको अलराउन्ड प्रदर्शनसँगै नेपालले नेदरल्यान्ड्समाथि रोमाञ्चक जित हासल गरेको हो । अन्तिम ओभरमा आवश्यक १७ रन बनाउँदै नेपालले विजय हासिल गरेको हो ।

शेन स्नाटरको बलमा निरन्तर बाउन्ड्री प्रहार गरेका केसीले नेपाललाई जिताएका हुन् । योसँगै ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो दोस्रो खेलमा नेपालले जितेको हो । नेदरल्यान्ड्सले दिएको १३४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले एक बल बाँकी छँदै पूरा गरे ।
नेपाली टिमका लागि कप्तान पारस खड्काले ४१ बलबाट सर्वाधिक ३३ रनको योगदान गरे । यसैगरी विनोद भण्डारीले २२ बलबाट २६ रन बनाए । करन केसीले १४ बलमा बिस्फोटक ब्याटिङ गर्दै १४ बलमा ३१ रन जोडे ।
नेदरल्यान्ड्सका लागि रोयलफ मेर्वेले चार ओभरमा १४ रन खर्चेर सर्वाधिक २ विकेट लिए । यसअघि नेदरल्यान्ड्सका लागि म्याक्स ओडोडले ४४ बल खेलेर सर्वाधिक ४३ रन बनाएका थिए भने नेपाली बलरले कसिलो बलिङ गरेका थिए ।
नेपालका लागि करन केसीले ३.३ ओभरमा १७ रन खर्चेर ४ विकेट, सन्दिप लामिछानेले चार ओभरमा २० रन खर्चेर सर्वाधिक ४ विकेट तथा ललित नारायण राजवंशीले एक विकेट लिए ।
नेदरल्यान्ड्सले १३ ओभर सकिँदा ९७ रन जोडपनि त्यसयता नेपाली बलरले उत्कृष्ट कमब्याक गराएका थिए ।

नेपालले पहिलो खेलमा हङकङलाई पराजित गरेको थियो भने नेदरल्यान्ड्सले आयरल्यान्डसँग पराजय बेहोरेको थियो ।




