ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो दोस्रो खेलमा जितका लागि नेपालले १३४ रनको लक्ष्य पाएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले १९.३ ओभरमा अलआउट हुँदै १३३ रन बनाएको हो ।
नेदरल्यान्ड्सका लागि म्याक्स ओडोडले ४४ बल खेलेर सर्वाधिक ४३ रन बनाए । नेपालका लागि करन केसीले ३.३ ओभरमा १७ रन खर्चेर ४ विकेट, सन्दिप लामिछानेले चार ओभरमा २० रन खर्चेर सर्वाधिक ४ विकेट तथा ललित नारायण राजवंशीले एक विकेट लिए ।
नेदरल्यान्ड्सले १३ ओभर सकिँदा ९७ रन जोडे पनि त्यसयता नेपाली बलरले उत्कृष्ट कमब्याक गराएका हुन् । नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।
पहिलो खेलमा हङकङलाई पराजित गरेको नेपाल दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा आयरल्यान्डसँग हार बेहोरेको नेदरल्यान्ड्स भने पहिलो जितको खोजीमा छ ।




