ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो दास्रो खेलमा नेपालले सुरुमा फिल्डिङ गर्ने भएको छ । टस जितेर नेपाली टोलीले नेदरल्यान्ड्सलाई पहिले ब्यटिङको निम्तो दिएको हो ।
पहिलो खेलमा हङकङलाई पराजित गरेको नेपाल दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा आयरल्यान्डसँग हार बेहोरेको नेदरल्यान्डस भने पहिलो जितको खोजीमा छ ।
खेल ओमानको अल अम्रेट क्रिकेट मैदानमा हुँदैछ ।
आइतबार हङकङविरुद्धको खेलमा करन केसी र विनोद भण्डारीले उत्कृष्ट खेल प्रदर्शन गर्दै टोलीलाई जित दिलाएका थिए । नेदरल्यान्ड्स पहिलो खेलमा आयरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो ।
ओमानले आयोजना गरेको सिरिजमा नेपाल, ओमान, हङकङ, नेदरल्यान्ड्स र टेष्ट राष्ट्र आयरल्यान्ड रहेका छन् । सुरुवाती दुई खेलमा दुवैमा जित निकाल्दै ओमान अंक तालिकाको शीर्ष स्थानमा छ ।
एक खेलमा जित निकालेको नेपाल दुई अंकसहित दोस्रोमा रहँदा नेट रनरेटका आधारमा दुई खेलबाट एक जितसहित दुई अंक जोडेको आयरल्यान्ड तेस्रो स्थानमा रहेको छ ।




