महराको निवासमा यसरी चल्दै थियो दशैं भोज…

बलात्कार आरोपित सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न आइतबार अपराह्न पौने ५ बजेतिर प्रहरी टोली बा१झ ७८६२ नम्बरको गाडी लिएर बालुवाटारस्थित सभामुख निवास पुगेको थियो।

दुई जना प्रहरी गाडीबाट ओर्लेर सभामुखको गेट ढकढक्याउन थाले। भित्र गएर उनीहरूलाई पक्राउबारे महरालाई जानकारी गराए।

त्यति बेला महरा आफन्तहरूलाई दसैं भोज खुवाउँदै थिए। ‘उहाँले आज अष्टमीको दिन भएर खसी पनि काट्नुभएको रहेछ,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘प्रहरीहरू सभामुख निवासभित्र पुगेर पनि उहाँलाई पक्राउ गर्न ढिलाइ हुनुको कारण त्यहाँ चलिरहेको भोज पनि हो।’

दुई जना प्रहरी पुगेको एक घन्टापछि प्रहरीको अर्को टोली त्यहाँ गएको थियो। निवासमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। गाडी चढ्ने बेला महराले प्रहरी भ्यानमा निस्कन आनाकानी गरे।

‘म तपाईंहरूले ल्याएको गाडी चढदिनँ, आफ्नै गाडीमा प्रहरी कार्यालय जान्छु,’ पक्राउ बेला महराको भनाइ उद्धृत गर्दै एक प्रहरीले भने, ‘बरू मेरै गाडीमा प्रहरीलाई पनि राख्नुस्।’

गत सोमबार संसद सचिवालयकी एक कर्मचारीले महरामाथि बलात्कारको आरोप लगाएकी थिइन्।

आरोप लागेपछि महराले सभामुख पदबाट मंगलबार राजीनामा दिए। गत शुक्रबार तिनै महिलाले महराले बलात्कार प्रयास गरेको भन्दै उजुरी दिएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रधानमन्त्री र गृहमन्त्रीसँग छलफल गरेर महरालाई पक्राउ गर्न कानुनी प्रक्रिया अघि बढाए।

आइतबार जिल्ला अदालत काठमाडौंले महरालाई पक्रन पक्राउ पुर्जी जारी गर्यो। त्यसको केही घन्टामै महरा पक्राउ परे। महरालाई सिंहदरबार प्रहरी वृतमा राखिएको छ। त्यसअघि उनको वीर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो।