‘सुखमा सबैको हाई–हाई, दुःखमा बाईबाई’, ‘बलेको आगोमात्र तापिन्छ, निभेको कस्ले ?’, ‘ओरालो लागेको मृगलाई बाछोले पनि खेद्छ’ भन्ने नेपाली उखान टुक्का हामी सबैले सुन्ने गरेकै छौं ।
यतिबेला निवर्तमान सभामुख कृष्णबहादुर महरामा यहि उखान टुक्का लागू भएको छ । एक महिलामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा महरामाथि यतिबेला ग्रहण लागेजस्तै भएको छ ।उनी निभेको दियो भएका छन् ।
कुनै बेला महराको अघि पछि लाग्ने धेरै थिए । उनका पछाडि नेता, कार्यकर्ता, कर्मचारीदेखि व्यापारीसम्म लाग्थे । भेट्नेको भ्याइ–नभ्याई हुन्थ्यो । तर, अहिले उनै महरा प्रहरी हिरासतमा छन् । उनलाई आफ्नैले साथ छाडे्का छन् ।
महरालाई यतिबेला कसैको साथ छैन । आफ्नै पार्टी सरकारको बागडोर सम्हालिरहेको बेला सभामुख जस्तो पदमा आशिन व्यक्ति प्रहरी हिरासतमा पुग्ला भन्ने कसले कल्पना गर्ने ? तर उनी आइतबारदेखि प्रहरी हिरासतमा पुगेका छन् । पार्टीले पनि वास्ता गरेको छैन ।
सभामुख पदबाट राजीनामा दिएपछि उनलाई भेट्न आउने निकै पातलिएका छन् । यतिसम्म कि संसारका मिडिया पनि उनी माथि नै लागेको छ ।
महराले सहयोग गरेकाहरू नै बिच्किएका छन् । तिनीहरूबाट सहयोग पाएनन् । आफ्नै दल नेपाल कम्युनिष्ट पार्टीबाट पनि महराले साथ पाउन सकेनन् । उल्टै उनीमाथि प्रहार भइरहेको पूर्व माओवादी पक्षधरबाट उठिरहेको छ ।
महराका छोराले फेसबुकमार्फत् आफ्नैले सहयोग नगरेको पोष्ट गरेर असन्तुष्टि समेत पोखिसके । यतिसम्मकी पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले खाली पद हात पार्न हतारो गरिरहेको टिप्पणी समेत गरे ।
महरालाई परिवारको भने साथ छ । पत्नी र छोराहरूले राम्रो साथ दिइरहेका छन् ।
महराले भेट्न आउनेसँग विपत्तिमा को आफ्नो र पराई हुन् भन्ने थाहा हुँदोरहेछ भन्न थालेको बुझिएको छ । प्रहरी हिरासतमा रहेका महरालाई सान्त्वना दिनकै लागि भए पनि को–को भेट्न जान्छन् अब त्यो हेर्न बाँकी छ ।






