ताजा समाचार

असाेज १९ गते २०७६

प्रहरी हिरासतमै वित्ने छ महराको दशैं

बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको दशैं प्रहरी हिरासतमै वित्ने भएको छ ।

महरा दशैंको अष्टमीको दिन साँझ सभामुखको निवासबाटै पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ ।

उनलाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको थियो । तर बाँकी कारबाही भने दशैं विदापछि नियमती अदालती प्रक्रिया सुरु भएपछि मात्र अगाडि बढ्नेछ ।

अदालत २८ गते मात्र खुल्नेछ । २६ गतेसम्म दशैंको विदा छ भने पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा २७ गते विदा दिइएको छ ।

पक्राउ गर्ने गृहकार्य बीचमै प्रहरीले गृहमन्त्री रामबहादुर थापासँग परामर्श गरेको थियो। गत आइतबार (असोज १२ गते) राति महराले आफूलाई बलात्कार गरेको भन्दै हाम्राकुरा मार्फत रोशनी शाहीले सोमबार (असोज १३ गते) खुलासा गरेकी थिइन् ।

लगत्तै मंगलबार (असोज १४ गते) नै विभिन्न दवावमा परी आफूलाई बलात्कार नभएको भन्दै हाम्राकुराका सम्पादकलाई सामाजिक सञ्जालबाट आरोपित गरेकी थिइन्। तर पछि उनको सामाजिक सञ्जाल पनि अरु नै व्यक्तिले चलाएको प्रमाणित भएको थियो। 

स्रोतका अनुसार घटना भएको छैटौं दिन बानेश्वर प्रहरी वृत्तमा भएको लामो छलफलपछि उजुरी दर्ता भएको हो। प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको थियो।

आफूमाथि बलात्कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका थिए । महरामाथि लागेको आरोप पुष्टि भएमा उनलाई ३० हजार जरिवानासहित तीन बर्ष कैद हुन सक्नेछ ।


Loading...