ताजा समाचार

असाेज १९ गते २०७६

महराले अझै छोडेनन् बालुवाटार, छलफलमा व्यस्त

यौन दूराचार प्रकरणका कारण सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले अझैपनि सरकारी निवास बालुवाटार छोडेका छैनन् ।

उनले गत आइतबार एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेपछि राजीनामा दिएका थिए ।

उनलाई सत्तारुढ नेकपाले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन निर्देशन दिए पनि निर्देशन लगत्तै उनले सभामुख पदबाट मात्रै राजीनामा दिए । 

उनका विरुद्धमा शुक्रबार रोशनी शाहीले बलात्कारको उद्योगमा उजुरी दिएकी थिइन् । निवर्तमान सभामुखका छोरा राहुल महराले भने,‘‘हामी बालुवाटारमै छौं । बुबा एउटा मिटिङ्गमा सहभागी हुनुहुन्छ । त्यसैले अहिले सम्पर्क गर्न मिल्दैन ।’’

उनले महराविरुद्ध उजुरी परेको विषयमा जानकारी भएको संकेत गर्दै भने,‘‘कसले उचालेर उजुरी दिन लगायो थाहा भएन । प्रहरीले हामीसँग सम्पर्क गरेको छैन ।’’

अघिल्लो आइतबार रातिको घटनालाई लिएर शुरुमा रोशनीले मिडिया र राजनीतिक दलका महिला नेतृहरुलाई घटनाको बारेमा जानकारी गराए पनि उनले भोलिपल्ट आफ्नो भनाई फेरेकी थिइन् ।

तर, पछि उनी नयाँ बानेश्वर प्रहरी चौकीमा गएर उजुरी दिएपछि घटना नयाँ चरणमा प्रवेश गरेको हो । उनको उजुरीको आधारमा महरा पक्राउ पर्न सक्ने अवस्था उत्पन्न भएको छ ।

महराको फोन आरोप लागेको भोलिपल्ट सम्म खुला रहेपनि त्यसपछि उनको फोन निरन्तर अफ रहँदै आएको छ । महरापुत्र राहुलले पार्टीका नेताहरुसँग पछिल्लो चरणमा कुराकानी नभएको बताए  । 


Loading...