ताजा समाचार

असाेज १९ गते २०७६

बलात्कारले निम्त्याएको राजनीतिक अवसान

नेपाली समाजमा नारीहरूको अवस्था अपेक्षाकृत कमजोर भए पनि महिलाविरुद्धको अपराध स्वयं पीडितले प्रामाणिकरूपमा सार्वजनिक गरेको अवस्थामा सर्व शक्तिमान मानिएका व्यक्तिको पनि राजनीतिक र सामाजिक व्यक्तित्व निमेषभरमै चकनाचुर हुन्छ भन्ने प्रमाण गतसाताको एउटा घटना बन्न पुगेको छ ।

दाङको एउटा स्कुलका प्रधानाध्यापकबाट माओवादी विद्रोहका एक प्रमुख नेताकारूपमा उदाएका नेता कृष्णबहादुर महराले माओवादी शान्तिपूर्ण राजनीतिमा आए पश्चात धेरैपल्ट मन्त्री, उपप्रधानमन्त्री र २०७४ सालको निर्वाचनबाट बनेको प्रतिनिधि सभाको सभामुखसम्मका उच्चपदको रसास्वादन गरिसकेका थिए ।

तर, उनले निकट सम्बन्धमा रहेकी एक महिलामाथि हातपात गरेपछि उनलाई ती महिलाले बलात्कार गरेको आरोप लगाइन् । यस प्रसङ्गले सभामुख महरालाई पदबाट राजीनामा गर्न बाध्य बनाएको मात्र होइन उनीविरुद्ध बलात्कारको फौजदारी मुद्दा चल्ने अवस्थासमेत उत्पन्न भएको छ । 

महराविरुद्धको घटनाको सुरु सोमवार साँझबाट भयो । हाम्राकुरा डटकमले पहिले सो विषयलाई इन्टरनेटमार्फत सार्वजनिक गर्‍यो र अनलाइन मिडियामा सो समाचार भाइरल भयो । दैनिक पत्रिकाले पनि महरामाथि लागेको आरोपलाई मंगलबार पत्रिकामा प्रथम पृष्ठमा स्थान दिए तर एकदम सजगताका साथ ।

कान्तिपुरले ‘सभामुखमाथि यौन दुर्व्यवहारको आरोप’ शीर्षकमा समाचार प्रकाशित गर्दै समामुख महरामाथि संसद् सचिवालयमा कार्यरत एक महिलाले यौन दुर्व्यवहार गरेको आरोप लगाएको र सभामुखको सचिवालयले सो विषयको खण्डन गरेको समाचार प्रकाशित गर्‍यो । 

नयाँपत्रिकाले पनि एक कोलमको समाचार बनाउँदै ‘सभामुख महरालाई यौन दुराचारको आरोप’शीर्षक दियो । सो दैनिकले पनिकान्तिपुरले जस्तै सजगताका साथ समाचार प्रकाशित गर्‍यो । सोही दिन सो समाचार प्रकाशित गर्नेमा नागरिक पनि रह्यो ।

प्रथम पृष्ठको मध्यभागमा ‘सभामुखमाथि महिलालाई दुर्व्यवहार गरेको आरोप’शीर्षकमा नागरिकले समाचार प्रकाशित गर्‍यो । नागरिकले सो महिलाले प्रहरीको सहयोग मागेको तर उजुरी नदिएको समाचार प्रकाशित गर्‍यो । तर मंगलबार नै प्रधानमन्त्रीले महरालाई बोलाएर राजीनामा दिन दबाब दिएको कारण महराले पदबाट राजीनामा बुझाए । 

बुधबार राजधानीबाट प्रकाशित हुने दैनिकमा गोरखापत्रलगायत सबैले महराको राजीनामाको समाचारलाई प्रमुखताका साथ प्रकाशित गरे । साधारणतया ताजा राजनीतिक घटनालाई भन्दा खोजी समाचारलाई प्रथम पृष्ठमा स्थान दिने नयाँपत्रिकाले पनि बुधबार महराको घटनालाई आठ कोलममा प्रकाशित गर्‍यो ।

इतिहासमै पहिलोपटक गम्भीर आरोपमा उच्च पदस्थ अधिकारीद्वारा राजीनामा दिएको भन्दै नेकपाको सचिवालय बैठकमा पुष्पकमलदाहाल ‘प्रचण्ड’को प्रस्तावमा र ओलीको समर्थनमा महराको राजीनामा मागिने निर्णय भएको नयाँपत्रिकाले समाचार दियो । साथै सभामुख महरासँग प्रधानमन्त्री केपीशर्मा ओली असन्तुष्ट रहेको कारणले पनि महराको राजीनामा सहजै मागिएको व्यहोराको समाचार सो दैनिकले दिएको छ । 

अमेरिकी सहयोगअन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्टको विषयमा संसद्मा तीन महिनाअघि प्रस्तुत भएको विधेयक पारित नगरी संसद्को अधिवेशन अन्त्य गरेकोमा प्रधानमन्त्री ओली रुष्ट रहेको नयाँपत्रिकाले जनाएको छ ।

अन्नपूर्ण पोस्टले भने सभामुखले दिएको राजीनामा उधारो भएको तर्क गर्दै ‘सभामुखको ‘उधारो’ राजीनामा’शीर्षक दिएको छ । महराले राजीनामामा आफूमाथि चारित्रिक आरोप लागेको कारण छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको उल्लेख गरेका थिए । नागरिकले ‘महराको राजनीतिक भविष्य नै अन्योलमा’भन्ने शीर्षकमा सो समाचार प्रकाशित गर्‍यो । 

महरा प्रकरणको विषयमा कान्तिपुर तथा अन्नपूर्ण पोस्टले बुधबार सम्पादकीय लेखे । कान्तिपुरले पीडित भनिएकी महिलाले बयान फेरेको विषयमा प्रहरीको लापरवाही र बदनियतपूर्ण काम भएको आरोप लगाएको छ ।

महराले सभामुखको पदबाट राजीनामा दिए पनि यो घटनालाई त्यतिकै टुंग्याउन नमिल्ने भन्दै सर्वसाधारण नागरिकको हकमा जस्तै स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी सत्यतथ्यबाहिर ल्याउनुपर्ने कान्तिपुरको माग छ । त्यस्तै अन्नपूर्ण पोस्टले महरामाथि लागेको आरोपमा विषयान्तर नभई निष्पक्ष छानबिनको आशा गरेको छ । 

हिमालय टाइम्सले बिहीबारको अंकमा सम्पादकीय लेख्दै निष्पक्ष छानबिनको माग गरेको छ । महरा निर्दोष छन् भने उनले सफाइपाउनआफैँले उजुरी पनि गर्न सक्छन् भन्ने उपाय पनि हिमालय टाइम्सले सुझाएको छ । 

बिहीबार महराले सर्तसहितको दिएको राजीनामाको सट्टा सर्त हटाएर राजीनामा दिएको विषयले पत्रिकामा प्राथमिकता पायो । कान्तिपुरले महिला सांसदहरू मौन प्रायःभएको विषयमा पनि समाचार प्रकाशित गर्‍यो । प्रथम पृष्ठमा भने कान्तिपुरले किन ती ‘पीडित’ युटर्न भइन् भन्ने प्रश्नसहितको मुख्य समाचार प्रकाशित गरेको छ । 

शुक्रबारसम्म महरा प्रकरण करिब करिब सेलाउन थालेको थियो । नागरिकले महरामाथि यौन दुराचारको आरोप लगाउने महिला रोसनी शाही र उनका पतिबीच सम्बन्ध विच्छेद गर्ने सहमति भएको विषयलाई मुख्य समाचार बनायो ।

कान्तिपुरले रोसनीसँगको अन्तर्वार्तालाई लेखको रूपमा प्रस्तुत गरिएको समाचारलाई मुख्य बनायो । हिमालय टाइम्सले प्रथम पृष्ठको पुछारमा महराले डेरा खोज्न थालेको समाचार प्रकाशित गर्‍यो । राजधानीले महराले सुविधाफिर्ता गरे पनि आवास नछोडेको समाचार प्रथम पृष्ठमा प्रकाशित गर्‍यो । 

शनिबारको कान्तिपुरले ‘महरा अझै ‘माननीय’’शीर्षकमा उनले सांसद पदबाट राजीनामान दिएकोमा पार्टीभित्र र बाहिर आलोचनाहुन थालेको विषयलाई मुख्य समाचार बनायो । अन्नपूर्ण पोस्टले महरालाई नपक्रन दबाब आएको र उनीविरुद्ध उजुरी पनि नआएको कारणले प्रहरी अन्योलमा परेको समाचार दोस्रो पृष्ठमा प्रकाशित गर्‍यो ।

आइतबारको कान्तिपुरले महराविरुद्ध बलात्कार प्रयासको जाहेरी परेको समाचार प्रकाशित गरेको छ । संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी रोसनीशाहीले तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी छिन् । 


Loading...