ताजा समाचार

असाेज १९ गते २०७६

दशैंमा मासु कति खाने ? राति नखाँदा राम्रो

मासु कति खाने भन्दा सामान्य जस्तो लाग्छ । तर, यो जटिल विषय हो । मासु खान नजान्दा शरीर धेरै रोगको घर बन्ने गर्छ । स्वस्थ शरीरका लागि स्वस्थ मासु अत्यावश्यक पर्छ, तर खाने मात्रामा नियन्त्रित नहुँदा समस्या निम्तिन्छ ।

जे खाइन्छ त्यो पचाउन सकियो भने मात्रै शरीरमा सकारात्मक प्रभाव रहने हो । मासु या अन्य जुनकुनै खानामा पनि यो लागू हुन्छ । तर, पचाउन नसक्ने गरी मासु खानु बढी घातक हुन्छ । त्यसैले मासु कति खाने भन्ने कुरा मुख्यतः व्यक्तिको पाचनशक्तिमै भर पर्छ ।

शरीरको डाइजेस्टिभ पावर (पाचन क्षमता)अनुसार मासु चाँडो या ढिलो पच्ने हो । डाइजेस्टिभ पावर बढी भएका व्यक्तिले धेरै मासु खाएर पनि छिटो–छिटो पचाउन सक्छन् । तर, डाइजेस्टिक पावर कम भएका व्यक्तिले थोरै मासु खाँदा पनि पाचनक्रियामा समस्या आउन सक्छ ।

डाइजेस्टिभ पावर खासगरी व्यक्तिको उमेर र शारीरिक सक्रियताअनुसार फरक पर्छ । उमेरलाई तीन वर्गमा विभाजन गरेर हेर्न सकिन्छ । १० वर्ष आसपास उमेरसमूहका व्यक्तिको डाइजेस्टिभ पावर कमजोर हुन्छ ।

त्यसैले यो उमेरका व्यक्तिले मासु धेरै खानु हुँदैन । यस्तै ६० वर्ष उमेर पार गरिसकेका व्यक्तिको डाइजेस्टिभ सिस्टम नै खराब भइसकेको हुन्छ । यो उमेरका व्यक्तिले त मासु छोडेकै उत्तम हुन्छ । १५–५० वर्ष उमेर समूहका व्यक्तिले आफ्नो पाचन क्षमतामा ख्याल गरेर मासु खानुपर्छ । फरक–फरक व्यक्तिको पाचनक्षमता बढी हुन सक्छ ।

व्यक्तिको दैनिक गतिविधिले पनि मासु कति खाने भन्नेमा फरक पार्छ । शारीरिक कसरत बढी हुनेले केही धेरै मासु पचाउन सक्छ । तर, कसरत कम हुन्छ भने कम मासु खानुपर्छ । त्यसो त मासु खाने समयमा पनि ख्याल गर्नुपर्छ ।

बिहान र दिउँसो खाएको मासु पच्न सजिलो हुन्छ । तर, राति सुत्ने समय भएकाले बेलुका मासु खाँदा पच्न मुस्किल पर्छ । राति मासु नखानु नै उत्तम हुन्छ ।

मासु धेरै खाँदा शरीरमा प्रोटिनको मात्रा बढी हुन्छ । बढी प्रोटिन हुँदा शरीरमा असर पर्ने कुनै रोग लागेको छ भने मासु खाने विषयमा नियन्त्रित हुनुपर्छ ।

रातो र सेतो मासुमा प्रोटिन तथा कोलेस्ट्रोलको मात्रा निकै अन्तर पर्ने भएकाले मासुअनुसार पनि पाचन मात्रा फरक पर्न जान्छ ।


Loading...