ताजा समाचार

असाेज १७ गते २०७६

महरा प्रकरण निष्पक्ष छानविन गर्न ६ वटा देशको माग

सयुक्त राष्ट्रसंघ र छ वटा पश्चिमा देशका दूतावासले नेपालमा महिला हिंसाको घटनाहरुको संख्या बढेको भन्दै चासो व्यक्त गरेका छन्।

शुक्रबार जारी विज्ञप्तिमा पीडितलाइ न्यायमा पहुँच दिने, पीडितको पक्षमा उभिने र लिंगको आधारमा हुने हिंसामा शुन्य सहनशीलता अपनाउने जिम्मेवारी सरकारको भएको स्मरण गराउँदैं अन्तर्राष्ट्रिय कानुन अनुसार न्यायकाे सुनिश्चितता गर्न पनि आग्रह गरेका छन्।

नेपालस्थित अस्ट्रेलिया, फिनल्यान्ड, नर्वे, स्वीट्जरल्यान्ड, संयुक्त अधिराज्य र संयुक्त राष्ट्रसंघले संयुक्त विज्ञप्ति जारी गरेका हुन्। उनीहरुले महिलाविरुद्ध हिंसा र यौन हिंसाका घटनाका पीडकहरुले उन्मुक्ति पाएको समाचारहरु आएको जनाएका छन्।

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कारको आरोप लागेको समयमा ती देशहरुले विज्ञप्ति जारी गरेपनि त्यस विषयमा उल्लेख गरिएको छैन।

उनीहरुले कंचनपुरकी किशोरी निर्मला पन्त र माया विकको घटनाहरुले पीडित तथा उनीहरुको परिवारले न्याय पाउनका लागि भोग्नु परेको चुनौतिलाई उजागर गरेको बताएका छन्।

यस्तै नेपाल सरकारले अन्तर्राष्ट्रिय मापदण्ड तथा महिलाविरुद्ध हुने सबै प्रकारको हिंसालाई अन्त्य गर्ने अभिसन्धि तथा नागरिक तथा राजनीतिक अधिकार अनुबन्ध अनुसार सबै प्रकारको आरोपहरुको चाँडो, पूर्ण तथा निष्पक्ष अनुसन्धान गर्नुपर्ने जिम्मेवारी रहेको पनि जनाएका छन्।

विज्ञप्तिमा महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्ने समितिको ३५ नम्बर सिफारिस कार्यान्वयन गराउन समेत आग्रहसमेत गरिएकाे छ। उनीहरुले पीडित केन्द्रित अवधारणाको कार्यान्वयन हुनुपर्नेमा पनि जोड दिएका छन्।


Loading...