ताजा समाचार

असाेज १७ गते २०७६

सुवास नेम्वाङद्वारा सभामुख पद अस्वीकार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भावी सभामुखबारे छलफल तीव्र भएको छ । भावी सभामुखका लागि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पटक पटक छलफल भएको छ ।

शीर्ष नेतृत्वबीच छलफल हुँदा सभामुखमा पूर्व संविधानसभाका अध्यक्ष र सभामुखको समेत ऐतिहासिक जिम्मेवारी पूरा गरेका सुवासचन्द्र नेम्वाङको नाम प्रस्ताव गरेको बुझिएको छ । तर शीर्ष नेताहरुको उक्त प्रस्तावलाई नेम्वाङले भने अस्वीकार गरेका छन् । 

‘म पटकपटक सभामुख भैसकेको मान्छे । ऐतिहासिक संविधानसभाको अध्यक्षको समेत जिम्मेवारी पूरा गरिसकेकाले अव पनि मैले नै त्यो पद लिनुपर्छ भन्ने छैन । अन्य क्षमतावान साथीहरु पनि हुनुहुन्छ । म नै किन हुनुपर्यो ?’

नेम्वाङले शीर्ष नेताले आफूलाई जिम्मेवारी लिन अनौपचारिक प्रस्ताव गरेपनि आफूले त्यसलाई अस्वीकार गरेको बताए । 

‘मैले नेतृत्वलाई पनि यही भनेको छु । मबाहेक अरु साथीहरुलाई पनि अवसर दिनुपर्छ भन्ने मेरो भनाइ हो,’ नेम्वाङको भनाइ छ । 

तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको चुनावी तालमेल र पार्टी एकता गर्ने स्प्रिटमा २०७४ साल फागुन २५ गते माओवादी केन्द्रको तर्फबाट महरा सभामुख पदमा निर्विरोध निर्वाचित भएका थिए ।

सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्थालाई समेत मध्यनजर गर्दै तत्कालीन एमालेले शिवमाय तुम्बाहाम्फेलाई उपसभामुख बनाएको थियो ।

तत्कालीन दुई पार्टीबीच सभामुख र उपसभामुख पदको लेनदेन राष्ट्रपति र उपराष्ट्रपति एवम् राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षसँग पनि प्रत्यक्ष जोडिएको छ ।

पछिल्लो पटक कर्मचारीमाथि यौन दुर्व्यवहारको गम्भीर आरोप लागेपछि कृष्णबहादुर महराले राजीनामा दिएसँगै प्रतिनिधि सभाको सभामुख पद रिक्त छ । 


Loading...