ताजा समाचार

असाेज १६ गते २०७६

अनिष चौथो पटक लिगलिगे राजा बने

दशौँ लिगलिगे दौड प्रतियोगिता ‘२०७६’ को उपाधि जित्दै पर्वतका अनिष थापामगरले श्रीपेच पहिरिएका छन्। भारतीय सेनामा कार्यरत पर्वतका अनिश यो पल्ट पनि दौड जित्दै ‘लिगलिगे राजा’ बनेका हुन् । यसअघि तीन पटक लिगलिगे राजा बन्न सफल अनिश बिहीबारे दशौं लिगलिगे दौड जितेर चौंथो पटक राजा बन्न सफल भएका हुन् ।

यसअघि अनिष २०७१, ०७३ र ०७५ मा पनि पहिलो भएका थिए । चेपे र मर्स्याङ्दी नदिको दोभानबाट लिगलिगकोटसम्मको १३ दशमलव ८ किलोमिटर दूरी ५७ मिनेट ५५ सेकेण्डमा पार गर्दै थापा लिगलिगे दौड जितेर लिगलिगे राजा बन्न सफल भएका हुन् । दौडेर लिगलिगको राजा हुने परम्परालाई उजागर गर्न २०६७ सालदेखि लिगलिगे दौड हुँदै आएको छ ।

दौडका विजेतालाई राजाका रुपमा एक रात लिगलिगकोटमा राख्ने गरिन्छ । लिगलिगे दौडमा प्रथम हुनेलाई यस वर्षदेखि एक दिनका लागि लिगलिगे राजाका साथै एक वर्षका लागि पालुङ्टार नगरपालिकाको पर्यटन सद्भावना दूत पनि घोषणा गरिएको छ ।

यही दूरी १ घण्टा एक मिनेट ८ सेकेण्डमा पार गरी डोटीका खगेन्द्रबहादुर भाट दोस्रो र एक घण्टा एक मिनेट ३४ सेकेण्डमा पार गरी लम्जुङका रामजी बस्नेत तेस्रो भएका छन् । पालुङ्टार नगरपालिका, लिगलिगकोट विकास अभियान र रणसिंह दल गणको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो ।


Loading...