ताजा समाचार

असाेज १५ गते २०७६

महराले दुर्व्यवहार नगरेको भन्दै रोशनी शाहीद्धारा प्रहरीमा निवेदन दर्ता

निवर्तमान सभामुख कृष्णबहादुर महराबाट आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै सुरुमा मिडियामा आएकी रोशनी शाहीले हाल आएर आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गर्दै प्रहरीमा निवेदन दर्ता गराएकी छिन् । 

उनले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा बुधबार निवेदन दर्ता गराएकी हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले महिलाले  निवेदन दर्ता गराएको पुष्टि गरे ।

आफू डिप्रेशनको बिरामी रहेको र औषधि समेत खाँदै आएको भन्दै महराले आफूमाथि कुनै दुर्व्यवहार नगरेको तथा समाचार कसरी बाहिरियो भन्नेबारे समेत थाहा नभएको व्यहोरा निवेदनमा उल्लेख गरेकी छिन् । उनले महरामाथि लागेको आरोप झूटो भएको समेत दाबी गरेकी छिन् । 

एक अनलाइनले महराले आफूमाथि बलात्कार गरेको भन्दै ती महिलाको बयानसहित समाचार छापेको थियो । तर त्यसको भोलिपल्टै महिलाले फेरि आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गर्दै आफ्नै बोलीको खण्डन गरेकी थिइन् । 

संसद सचिवालयमा कार्यरत ती महिलाको सुरुको बयानको आधारमा समाचार बाहिरिए पछि महराले भने नैतिकताको आधारमा राजीनामा दिइसकेका छन् । उनको राजीनामा बुधबार स्वीकृत पनि भइसकेको छ । 


Loading...