ताजा समाचार

असाेज १५ गते २०७६

लमजुङ संगम लोकार्पण

लमजुङको भौगोलिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, पर्यटन आदि पक्ष विशेषको विविध सँगालो लमजुङ सङ्गम रजत स्मारिका एक समारोह बीच लोकार्पण भएको छ ।

लमजुङ संगम लमजुङ–पोखरा सम्पर्क समितिको २६ औं वार्षिकोत्सवको अवसरमा सांसदद्वाय मायानाथ अधिकारी र धनञ्जय दवाडीले संयुक्त रुपमा लोकार्पण गरे ।

प्रमुख अतिथि माननीय अधिकारीले लमजुङलाई पोखरामा बसेर विभिन्न गतिविधिमा संलग्न हुँदै आएको लमजुङ पोखरा सम्पर्क समितिको महत्त्वपूर्ण संगालो प्रकाशन भएको सराहना गरे । सामाजिक काम गर्दा राजनीतिको आँखाले हेर्न नहुने उनको धारणा थियो ।

समाजमा काम गर्दा कुन पार्टीको भन्ने कुत्सित मनसाय राखियो भने विकासलाई प्रभावित पार्ने हुँदा जे जस्तो भए पनि एकजुट हुनुपर्ने बताए ।

‘गाउँमा खानेपानी, बिजुली, मोटरबाटो जाँदा त्यहाँका सबै जनताले सुविधा उपभोग गर्ने हुँदा हामीले भोट दिए नदिएको हेरेर काम गर्ने होइन’, अधिकारीले भने । पार्टी जुनसुकै भए पनि विकासमा एक हुनुपर्ने अधिकारीले विचार पोखे ।

अर्का लमजुङ क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने सांसद तथा विशिष्ट अतिथि धनञ्जय दवाडीले लमजुङका ७५ वटा वडामध्ये १ वडा घेर्मुलाई कुनै पनि ग्रामीण सडक खण्डले नछोएको र २ गाउँमा बिजुली नपुगेकोमा हाल यी सुविधा नपुगेका स्थानमा पुर्याउने कार्ययोजना भइरहेको जानकारी दिए ।

लमजुङ सङ्गमका समीक्षक सुरज पौडेलले तथ्यांक खोजेर सूत्रबद्ध गरी सम्पादन कार्य कठिन भए तापनि स्मारिकाको हरेक पानामा लमजुङ पोखिएको छ भने । अझ उनले भने, ‘आकर्षक र सुन्दर कलेवरमा उतारिएको लमजुङ सङ्गम अन्य स्मारिका भन्दा बेग्लै विशेषता छ । ’

संयोजक विश्वलाल श्रेष्ठले मातृभूमि प्रति समर्पित लमजुङ पोखरा सम्पर्क समितिले सातौं रजत स्मारिकाका रुपमा निकाल्दा हामी अन्य पोखरा रहेका समाज भन्दा अघि र प्रकाशनमा सम्पर्क समिति पहिलो रहेको धारणा व्यक्त गरे ।

लमजुङ–पोखरा सम्पर्क समितिकी अध्यक्ष चम्फादेवी रानाभाटको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमा आउँदै गरेका दशै तथा दीपावलीको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।
कार्यक्रममा सल्लाहकार भूपनिधि पन्त, प्रथम उपाध्यक्ष विपिन अधिकारी, लमजुङ पोखरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपकराज घिमिरे लगायतले बोलेका थिए ।

विक्रम सम्वत् २०५० सालमा जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भएको जिल्ला बाहिरका संस्थाहरुमा लमजुङ पोखरा सम्पर्क समिति पहिलो सामाजिक संस्था हो ।

यसले बेलाबखतमा छरिएर रहेका लमजुङेहरुलाई एकत्रित गराउन पारिवारिक वनभोज, रक्तदान, लमजुङे दिदीबहिनीहरुलाई तीजेदर खुवाउने, ठूला चाडपर्वका नजिक शुभकामना आदानप्रदान गर्ने, साहित्यिक गतिविधि बढाउने, मातृभूमिको पहिचान गराउने स्मारिका प्रकाशन गराउने आदि जस्ता महत्त्वपूर्ण कार्यक्रम गर्दै आइरहेको छ । सो कार्यक्रमको सञ्चालन सचिव माधव पनेरुले गरेका थिए ।


Loading...