नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कृष्णबहादुर महरालाई सभामुख पदबाट मात्र नभई सांसद पदबाट पनि हटाइ जनविश्वास आर्जन गर्न सरकारलाई सुझाव दिएका छन् ।
कञ्चनपुरकी निर्मला पन्तका दोषी पत्ता लगाउन नसकेर जनविश्वास गुमाइसकेको सरकार र प्रहरी प्रशासनलाई महरा प्रकरण पुनः विश्वास आर्जन गर्ने अवसर भएको सिंहको भनाइ छ ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ ले बुधबार जोरपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले कानुन सबैका लागि समान भएको बताउँदै अनुसन्धानमा संलग्न प्रहरीहरुलाई दबाव र प्रभावमा नपरी चनाखो भएर काम गर्न सुझाव दिएका छन् । अनुसन्धानको क्रममा दोषी देखिनेलाई ढाकछोप गर्न नहुने उनको भनाइ छ ।
नेता सिंहले भने, ‘सभामुखको व्यक्तित्व प्रस्तुत गर्न उहाँ चुकिसक्नु भएको छ । नेकपाको नेता भएपछि जे मन लाग्यो त्यही गर्न पाउने र,महिलालाई दुर्व्यवहार गर्ने , ढाकछोप गरेर कानुनभन्दा माथि नेकपाका नेता–कार्यकर्ता हुने , यो हुनै सक्दैन । ‘
एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि नेकपा नेता महराले सभामुख पदबाट मंगलबार राजीनामा दिएका थिए । तर महराको राजीनामा म कुटेजस्तो गर्छु, तिमी रोएजस्तो गर भनेजसरी आएको सिंहले टिप्पणी गरे । उनले संविधानको कुनचाहिँ धाराअनुसार राजीनामा गरेको भनेर प्रश्न गदै जनतालाई भ्रममा पार्न नहुने भनेका छन् ।






