अन्तर्राष्ट्रिय मिडियामा महराको यस्तो चर्चा

यौन दुर्व्यवहारको आरोपमा नेपालका सभामुखले राजीनामा दिएको प्रसंगले  आजका अन्तर्राष्ट्रिय मिडियामा पनि निकै चर्चा पाएको छ ।

न्यूयोर्क टाइम्सले बलात्कारको आरोपमा नेपालका सभामुखले पदबाट राजीनामा दिएको जनाएको छ । त्यस्तै अल जजिरा, मियामी हेराल्डलगायतका दर्जनौं मिडियामा समाचार प्रकाशन गरेका छन् ।

समाचारहरुमा उनी प्रभावशाली कम्युनिस्ट नेता भएको समेत जनाइएको छ । एशोसिएट प्रेस (एपी) ले समाचार बनाएकोले सो समाचार विश्वका विभिन्न मिडियाले सोही एजेन्सीबाट लिएर समाचार बनाएको पाइएको छ । 

न्यूयोर्क टाइम्समा प्रहरी अधिकारी उत्तमराज सुवेदीलाई उद्धृत गर्दै बनाइएको समाचारमा महरा निगरानीमा भएको र घटना भएको अपार्टमेन्टबाट केही सामान लिइएको समेत जनाएका छन् ।

त्यसैगरी राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीलाई उद्धृत गर्दै सोही समाचारमा घटनापछि महराले राजीनामा गर्नुलाई सकारात्मक रुपमा टिप्पणी गरिएको छ ।