सुवास नेम्वाङप्रति महरा पुत्र निर्मलको कटाक्ष, ‘कति छिटो आँ गरेर बसेको’

यौन दुर्व्यवहारको आरोपपछि महराले राजीनामा दिए । त्यसपछि पछि भने सो प्रकरणका बारेमा मुख खोलेका छैनन् ।

तर, पूर्वसभामुख सुवास नेम्वाङ्गले भने, ‘‘उहाँले पार्टीको सुझावअनुसार सभामुखबाट राजीनामा दिइसक्नु भएको छ । संवैधानिक व्यवस्थाअनुसार उहाँले दिएको राजीनामा कतैबाट स्वीकृत भइरहनुपर्ने जरुरी छैन । उहाँलाई सांसदबाट पनि राजीनामा दिनु भनिएकोमा उहाँले के गर्नुहुन्छ त्यो उहाँले जान्ने कुरा हो ।’’

उता महरा पुत्र निर्मल महराले भने सामाजिक सञ्जालमा लगातार विभिन्न स्ट्याटस लेखेका छन् । उनले पूर्वसभामुख नेम्वाङ्गले भनेको ‘महरालाई अब नेकपाले सांसदका रुपमा चिन्दैन’ भनेको समाचार बारेमा टिप्पणी गर्दै भनेका छन्,‘‘महरा पदको भोगी होइनन् । आरोपित घटनाक्रम पुष्टि गर्न नैतिकताका आधारमा राजीनामा लेखेका हुन् । कति छिटो आँ गरेर बसेको ? कमरेडहरु नै आफ्ना कमरेडको अस्तित्व छिटो समाप्त होस् भन्ने कामना गर्न लागेपछि षडयन्त्र केलाई बुझ्ने ? धैर्य गर्नुस् ।’’

उनले महरालाई आरोप लगाउने महिलाले सच्याएको भनाइ पनि फेसबुकमा सेयर गरेका छन् । पीडित महिलाले फेसबुकबाट महरालाई गाली गरेका सामग्रीहरु हटाएकी छन् । 

महरापुत्रको अर्को स्ट्याटसमा भनिएको छ,‘‘समीकरण नयाँ बनाउ, सभामुख नयाँ बनाउ, बाँडीचुँडी खाने प्रधानमन्त्रीको नयाँ भाग लगाउ, षडयन्त्रको शिकार इमान्दारलाई बनाएका छौ, तिम्रो फट्याईँ टिक्ने समय पनि लामो मैले देखेको छैन ।’’