जिल्ला प्रशासन कार्यालय कास्कीले गैरकानुनी र अवाञ्छित क्रियाकलाप भए वा हुन सक्ने अवस्था देखिए तत्काल प्रहरी वा नजिकको नागरिक सहायता केन्द्रमा खबर गर्न आग्रह गरेको छ । मंगलबार सूचना निकालेर कार्यालयले सद्भाव, प्रेम र उल्लासपूर्वक चाडपर्व मनाउन आग्रह गरेको हो ।
नारी जागरण अभियान पोखराले असोज ८ गते जिल्ला प्रशासन कार्यालय कास्की र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा दसैंमा हुन सक्ने कालोबजारी, मूल्यवृद्धि, बढी भाडा असुली, चोरी, डकैती नियन्त्रणमा सजग हुन प्रशासनलाई आग्रह गरेको थियो ।
सूचनामा कास्की प्रशासनले प्रदेश र स्थानीय तहहरुबाट बजार अनुगमन र निगरानी भइरहेको उल्लेख गर्दै बजार, यातायात आदि क्षेत्रमा गैरकानुनी क्रियाकलाप भए सूचित गर्न सबैलाई आग्रह गरेको हो । कास्कीका ३ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले पनि व्यवसायीलाई अनुचित नाफा नलिन, सामाजिक दायित्व वहन गर्न र सबैलाई नागरिकको सर्वाेत्तम हित र अमनचयन कायम गर्न आग्रह गरेको छ । सम्बन्धित निकायहरुले बजारको सूक्ष्म अनुसन्धान गरिरहेको उल्लेख गर्दै मंगलबार जारी सूचनामा कानुनको बर्खिलाप गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

नारी जागरण अभियान पोखरा संयोजक अञ्जु क्षेत्रीले स्थानीय तह र प्रदेश सरकारले बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताइन् । उनले भनिन्, ‘दसैंतिहारमा बजारमा मूल्यवृद्धि, कालोबजारी, यातायातमा बढी भाडा असुली अनेक विकृति हुन्छन् । समाजका सबैखाले विकृतिविरुद्ध हामी निरन्तर खबरदारी गरिरहन्छौं ।’






