त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले जिम्बाब्वेसँग दोस्रो हार व्यहारेको छ । मंगलबार भएको खेलमा जिम्बाब्वेले नेपाललाई ४० रनले हराएको हो ।
सिंगापुरमा जिम्बाब्वेले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो । विनोद भण्डारीले व्यक्तिगत ३३ र आरिफ शेखले २५ रन बनाए पनि नेपाली व्याट्सयानहरुले ठूलो साझेदारी हुन सकेन ।
नेपालको सुरुवात राम्रो रहेन । इशान पाण्डेको स्थानमा टिममा आएका पवन शरार्फले खाता नै खोल्न सकेनन् । उपकप्तान दीपेन्द्र सिंह ऐरी पनि मात्र चार रनमा आउट भए, जतिबेला टिमको स्कोर मात्र ५ रन थियो ।
पारस खड्का पनि १२ रनमा आउट भए । त्यसपछि पनि नेपालले लगातार विकेट गुमाइरहृयो ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्बेले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६० रन बनाएको थियो ।
जिम्बाब्वेको पनि सुरूवात राम्रो थिएन ।खाता नै खोल्न नपाउँदै पहिलो विकेटको रुपमा ब्रियन चारीलाई गुमाएको थियो । टिमको स्कोर ३० रन हुँदा रेगिस चकक्भा पभेलियन फर्किँएपछि जिम्बाब्वे दबाबमा आएको थियो तर कप्तान सेन विलियम्सले पारी सम्हाले ।
उनले विष्फोटक ब्याटिङ गर्दै चार चौका र तीन छक्का प्रहार गर्दै ३५ बलमा ५३ रन बनाए । त्यस्तै, रियन बरलले अविजित २७, पिटर मोर २१ र टिनोटेन्डा मुटम्बोद्जीले २० रन बनाए ।
नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान २-२ विकेट लिए । सोमपालले चार ओभर बलिङ गर्दै १५ रन खर्चिएर दुई विकेट लिए ।सन्दीपले ४ ओभरमा २७ रन खर्चिएर दुई विकेट लिए । कप्तान पारस खड्का र अविनाश बोहराको नाममा समान १-१ विकेट रह्यो ।






