दुबई दुर्घटना : ६ जना नेपालीको ज्यान गयो (मृत्यु हुनेको नामावलीसहित)

यूएईको दुबईमा भएको बस दुर्घटनामा परि ज्यान गुमाउने नेपाली नागरिकको संख्या ६ पुगेको छ ।

ज्यान जाने नेपालीहरूमा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउद रहेको यूएईस्थित नेपाली दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीले जानकारी दिए ।

दुर्घटनामा परि ज्यान गुमाउने नेपालीहरूको नेपालस्थित ठेगाना भने खुलेको छैन । फस्र्ट सेक्युरेटी कम्पनीमा काम गर्ने सुरक्षा कामदार बोकेको मिनिबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा ६ जना नेपाली नागरिकसहित ८ जनाको ज्यान गएको हो ।

ज्यान जानेमा १ पाकिस्तानी नागरिक र १ भारतीय नागरिक रहेका छन् । दुबई प्रहरीका अनुसार घाइतेमध्ये ५ भारतीय र एक जना बंगलादेशी नागरिक छन् ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र सबैलाई उपचारको लागि दुबईमा रहेको अल रसिद अस्पतालमा पुर्याइएको छ ।

दुर्घटनामा ज्यान गुमाउने नेपाली नागरिकका बारेमा थप जानकारी लिने प्रयास भैरहेको श्रम काउन्सुलर भेषबहादुर कार्कीले जानकारी दिए ।