ताजा समाचार

असाेज १४ गते २०७६

अनलाइन टिकटिङमा बढ्दो आकर्षण, सरकारले सहयोग गरे एकजना पनि लाइन बस्नुपर्दैन : बससेवा

नेपालीहरूको महान चाड दशैँ नजिकिएसँगै सबैलाई आ–आफ्नो घरमा जाने चटारो सुरू भएको छ । दशैँको अग्रिम टिकट बुकिङ खुल्ला भएपछि मानिसहरू राति नै गएर बस टिकटका लागि लाइन लाग्ने गरेका छन् । पछिल्लो समयमा अनलाइनबाट बस टिकट काट्न सकिने भएपछि अनलाइन टिकटिङमा पनि आकर्षण बढेको छ । अघिल्लो वर्षमा करिब ४ हजार जनाले अनलाइन टिकट काटेका थिए । तर यो वर्ष बुकिङ खुलेको एक सातामै करिब १० हजार जनाले टिकट काटेका छन् । टिकट काट्ने दिन अझै बाँकी रहेको हुनाले यो वर्ष हजारौँ यात्रुले अनलाइनबाट टिकट काट्ने अनुमान गरिएको बससेवा डटकमका संस्थापक पिआर खनालले बताउनुभयो ।

बससेवाबाट मुलुकका विभिन्न गन्तव्यका लागि अनलाइन टिकट काट्न सकिन्छ । यातायात व्यवसायीले सिट संख्या कम दिँदा सबैलाई अनलाइन टिकट उपलब्ध गराउन मुस्किल परेको बससेवाको भनाई छ । अहिले अन्यत्रका टिकट कम भएपनि काठमाण्डौं बाट बुटवल, भैरहवा, दाङ, पोखरा, बाग्लुङ, म्याग्दी, चितवन, सुर्खेत, रूकुम, जोमसोम, ओखलढुंगाा, खोटाङ, नुवाकोट, रसुवा, जनकपुर लगायतका ठाउँका लागि भने पर्याप्त मात्रामा अनलाइनबाट टिकट काट्न सकिने बससेवाको भनाई छ । पूर्वी तथा सुदुरपश्चिम लगायतका जिल्लाका टिकट भने अनलाइनमा कम उपलब्ध भएकाले पर्याप्त मात्रामा काट्न नसकिएको खनालको भनाई छ । उहाँले भन्नुभयो ‘हामी त टेक्नोलोजि प्रोभाइडर हो, उहाँहरुले अनलाइनमा सिट छोडेमा यात्रुले टिकट काट्न पाइने हो, पूर्वी नेपाल लगायतका केही जिल्लामा व्यवसायीहरूले सिट उपलब्ध नगराएका कारण अनलाइनबाट दिन मुस्किल भएको हो । तर अहिले पनि धेरै क्षेत्रमा जानका लागि अनलाइनबाट टिकट काट्न सकिन्छ ’।

देशको प्रमुख पर्यटकिय गन्तब्य पोखराको लागि भने बससेवामा पर्याप्त मात्रामा सिट उपलब्ध छन । पोखरा वासिले बससेवा मार्फत काठमाडौं आउने जाने दुई तर्फी टिकट नै काट्न सक्छन ।
नेपालमा अनलाइनबाट बस टिकट काट्न सकिने सेवा दिने बससेवा डटकम एकमात्र सेवा प्रदायक हो । यात्रुले बसेवा डटकम, इसेवा, आइएमर्ई पे, मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ लगायतबाट सहजै टिकट काट्न सकिनेछ ।

बससेवाका संस्थापक खनालले सरकारबाट सहजीकरण हुने हो भने एक जना पनि लाइन लाग्नुपर्ने अवस्था नआउने बताउनुभयो । आफुहरूले यातायात क्षेत्रमा चाहिने उच्च्स्तरको प्रविधि निर्माण गरेकाले सबै रूटका सवारीलाई अनलाइनमा राख्ने र अग्रिम बुकिङ अनलाइनबाट गर्ने हो भने कोही पनि लाइन लाग्नुनपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो ‘अनलाइन टिकट काट्दा सुरूमा टिकट काट्ने हो भने कति गाडी छन्, कति सिट बाँकी छन्, कति बुकिङ भए र थप कति गाडी आवश्यक पर्छ भन्ने सबै कुराको मोनिटरिङ गर्न सकिन्छ । टिकट दोहोरिने तथा नपाउने समस्या पनि हुँदैन । सरकारले सहजीकरण गरिदिने हो भने एक जनालाई पनि लाइन नलगाइ घरघरमा पुर्याउन हामी सक्षम छौँ ।’