जलकुम्भी हटाउन दीर्घकालीन उपाय खोज्दै महानगर

- १ सातमा २ सय ट्रक निकालियो, दसैंभर डुंगा व्यवसायी र जलारी समुदायले निकाल्ने

पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवाताल जलकुम्भी झारले ढाकिएपछि त्यसलाई हटाउन महानगरले सञ्चालन गरेको अभियान स्थगित भएको छ । सोमबारको सफाइ अभियानमा नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरका पृतनापति गोकुल भण्डारीसहित १ सय २५ जना नेपाली सेना सहभागी भएका थिए ।

महानगरले सञ्चालन गरेको अभियानबाट तालमा रहेको ५० प्रतिशत जलकुम्भी भार निकालिएको दाबी गरिएको छ । नेपालीको महान पर्व दसंैका कारण अभियान स्थागित गरिएको महानगरले जनाएको छ ।

पोखरा महागनरपालिकाका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा सोमबार बसेको बैठकले अभियान स्थगित गर्ने र १ साता फेवा डुंगा व्यवसायी र जलारी समुदायलाई जलकुम्भी झार निकाल्ने जिम्मा दिने निर्णय गरेको छ । महागनरको १ हप्ते अभियानबाट तालबाट २ सय ट्रक जलकुम्भी निकालिएको पोखरा जलकुम्भी झार व्यवस्थापन समिति संयोजक पुण्यप्रसाद पौडेलले बैठकमा जानकारी दिए ।

अभियानबाट तालमा रहेको आधार झार निकालिएको र बाँकी झार निकाल्न असोज १७ गतेसम्म डुंगा व्यवसायी र जलारी समुदायलाई दैनिक ज्याला उपलब्ध गराएको उनको भनाइ छ । बैठकले जलकुम्झी झारको दीर्घकालीन व्यवस्थापनका लागि लगत इस्टिमेट तयार गरेर संघीय सरकार र गण्डकी प्रदेश सरकारलाई प्रस्ताव पेश गर्ने निर्णयसमेत भएको महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत गगांलाल सुवेदीले जानकारी दिए ।

बैठकले असोज १७ गतेसम्म डुंगा व्यवसायी र जलारी समुदायबाट जलकुम्भी झार फाल्ने कार्यको अनुगमन गर्ने जिम्मेवारी महानगरका सरसफाइ शाखा प्रमुख कल्पना बराललाई दिएको छ ।

दैनिक कति जनाले कति समय काम गरे भन्ने रेकर्ड राखिने र उनीहरुलाई दैनिक ज्याला उपलब्ध गराइने भएको छ । बैठकले अभियानमा सहयोग गर्ने नेपाल प्रहरी, नेपाली सेना,सशस्त्र प्रहरी, जनप्रतिनिधि, नागरिक समाज, कर्मचारी, नगर प्रहरी, आमा समूह, क्लब लगायत सम्पूर्ण संघ, संस्थालाई आभारसहित धन्यवाद ज्ञापन गरेको छ । प्रमुख जिसीले अभियानले जलकुम्भी झार निकाल्न ठूलो भूमिका खेलेको बताउँदै अब दीर्घकालीन योजना आवश्यक भएको जनाए ।

उनले जलकुम्भीलाई माथि नै रोक्न ड्याम बनाउनुपर्ने विचार राखे । गण्डकी प्रदेश सरकार र महानगर मिलेर ड्याम बनाए तालमा जलकुम्भी आउने क्रम अन्त्य हुने विश्वास उनको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले आवश्यक परेका बेला सहयोग गर्न तयार रहेको बताए ।

डुंगा व्यवसायी समिति अध्यक्ष बृद्धिबहादुर नेपालीले असोज १७ गतेसम्म दैनिक ९ बजेदेखि साँझ ४ बजेसम्म जलकुम्भी झार निकाल्ने प्रतिबद्धता जनाए । ज्ञानबहादुर जलारीले जलकुम्भी झार हटाउन तयार रहेको उल्लेख गरे ।

भदौ अन्तिम साता आएको बाढीले ल्याएको जलकुम्भीले फेवाताल पूरै ढाकेपछि अभियान चलाएर झार निकालिएको हो । झारले ढाकेपछि पर्यटकलाई ढुंगा शयर गर्न समस्या भएको थियो ।