नेकपाका नेतासहित ६ जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय बाजुराले जुवातास खेलिरहेको अवस्थामा नेकपा बाजुराका नगर कमिटी सचिव चन्द्र थापासहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा होटल संचालक अन्तिम शाह, स्वामी कात्तिक गाउँपालिका-२ का हिक्मत बुढा, सोही ठाउँका धिरेन्द्रबहादुर शाही, रनदीप बुढा र जगन्नाथ गाउँपालिका-४ का जगत भण्डारी रहेका छन ।

बडिमालिका नगरपालिका-९ मार्तडी बजारमा रहेको रोयल होटेलममा जुवातास खेलिरहेको सूचना पाएलगत्तै सोमबार बिहान प्रहरीले होटलमा छापा मारेको थियो ।

उनीहरुको साथबाट नगद ३० हजार ७७० रुपैयाँसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी)उद्धवसिंह भाटले जानकारी दिएका छन् ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ ।