पोखरा २२ पुम्दीमा रहेको सक्रिय महिला विकास बचत तथा ऋण सहकारीको १९ औं साधारणसभा आइतबार भएको छ । सभामा प्रदेशसभा सदस्य मीना गुरुङले सार्थक श्रम गरी बचत गर्न र उत्पादनशील क्षेत्रमा लाग्न आग्रह गरिन् । उनले वडा, महानगर र प्रदेशसँग समन्वय गरी महिलालाई सशक्तीकरण र उद्यमशील बनाउने तालिम सञ्चालन गर्न उनले आग्रह गरिन् ।
पोखरा २२ का अध्यक्ष मित्रलाल बरालले सहकारीका सिद्धान्त अवलम्बन गरी अघि बढ्न आग्रह गरे । उनले महिलालाई सशक्त बनाउन सहकारी उपयुक्त माध्यम भएको र सहकारीमार्फत देशकै समृद्धि सम्भव भएको बताए ।
कार्यक्रममा शुक्रराज माविका प्रधानाध्यापक नरनाथ बराल, आमा घर पाठशालाका सञ्चालक मोतिप्रसाद पौडेल, ज्येष्ठ नागरिक समिति पोखरा २२ अध्यक्ष खडानन्द बराल, नेकपा २२ अध्यक्ष चण्डीका बराल, १ घर १ धारा समितिका अध्यक्ष राजबहादुर गुरुङ, जिल्ला सहकारीका प्रतिनिधि नवराज बराल, उपाध्यक्ष विष्णुकुमारी बराल, सचिव यसोदा बराल लगायतले बोलेका थिए ।

२०५७ मा स्थापना भएको सक्रिय महिलामा १ हजार १ सय ५६ सेयर सदस्य छन् । सहकारीका अध्यक्ष कमला बरालले सहकारीले १ घर, १ व्यवसायको नीति अवलम्बन गरी कार्य गरिरहेको बताइन् । सभाले कोषाध्यक्ष मुना बरालले कोषाध्यक्षको प्रतिवेदन, लेखा समिति संयोजक लक्ष्मी बरालको आर्थिक प्रतिवेदन र अध्यक्ष कमलाले अध्यक्षको पेश गरेका प्रतिवेदन पारित गरेको छ ।
राधा बराल उत्कृष्ट कर्मचारीबाट सम्मानित भइन् । सभामा सहकारीबाट ऋण लिई विभिन्न पेसा, व्यवसाय गरि आयआर्जन गरेका १२ जना सेयर सदस्यलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
सहकारीका सञ्चालक समिति सदस्यहरु सावित्रा पौडेल र उर्मिला अधिकारीले गीतमार्फत् सक्रिय सहकारीले गरेका गतिविधि र अब गर्नुपर्ने कामबारे प्रकाश पारे ।




