ताजा समाचार

असाेज १२ गते २०७६

डेढ दशकपछि सरुभक्तको ‘प्रतिगन्ध’

बहु विधामा कलम चलाउने सरुभक्तका करिब ५० कृति छन् । पागलवस्तीबाट मदन पुरस्कार पाएका उनी १५ वर्षपछि फेरि आख्यानकारको नयाँ अवतरमा आएका छन् । आइतबार उनको उपन्यास प्रतिगन्ध सार्वजनिक भएको छ ।

उपन्यासमा उनले नेपालीको डायस्पोराको कथा प्रस्तुत गरेका छन् । सरुभक्तको सातौं उपन्यास लोकापर्ण गर्न उनीभन्दा अग्रज केही स्रष्टा निम्त्याइएन । पोखराका आख्यानकारत्रय गनेस पौडेल, सरस्वती प्रतीक्षा र तीर्थ गुरुङले संयुक्त रुपमा प्रतिगन्ध लोकापर्ण गरे ।

प्रतिगन्धमा अमेरिकी लाहुनेको कथा छ । पहिले आफूमा सम्पादनको चेतना नभएको भन्दै सरुभक्तले यो उपन्यास सम्पादनसहित आएको बताए ।

एउटै उपन्यास पढ्दा ४÷५ वटा उपन्यास पढेको अनुभूति हुने सरस्वतीले बताइन् । प्रतिगन्धमा सहनशीला, सुशीला महिलाको कथा होइन, सहनशील र सुशील पुरुषको कथा रहेको उनको भनाइ छ । साहित्यका तीर्थ श्रेष्ठले राज्यको एउटा प्रमुख आयस्रोत अझै पनि लाहुरेहरु भएकाले उपन्यास सही विषय छानेको बताए । कवि तीर्थ श्रेष्ठले सरुभक्तसँग अरुले देख्न र लेख्न नसक्ने विषयलाई टिप्ने खुबी भएको बताए ।

आख्यानकार गनेसले प्रतिगन्ध पढिरहँदा अमेरिकाको कुनै लेखकले लेखेको अनुभव हुने सुनाए । उपान्यासमा ४ पात्रका आआफ्नै कथा छन् ।

बुक हिलले प्रकाशन गरेको प्रतिगन्धको मूल्य ६ सय रुपैयाँ छ । लोकार्पण कार्यक्रम पोखरेली युवा सांस्कृतिक परिवारले आयोजना गरेको हो ।