सुरक्षित यात्राकोलागि चालक सम्मान कार्यक्रम

ट्राफिक प्रहरीले ‘सुरक्षित यात्राको शुभकामनासहित चालक सम्मान’ कार्यक्रम पनि सुरु गरेको छ । आईतबार काठमाडौंको नयाँ बसपार्कबाट दशैंका यात्रु बोकेर गएका बसका चालकहरुलाई सुरक्षित यात्राको शुभकामनासहित फूलको माला र खादा लगाएर सम्मान गरेको हो । सम्मान गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यात्रुहरुको सुरक्षित यात्राका लागि चालकहरुलाई अझै हौसला प्रदान होस् भन्ने उद्देश्यका साथ दशैंको अवसर पारेर शुभकामनासहित चालक सम्मान कार्यक्रम पनि शुभारम्भ गर्नु परेको स्पष्ट पापारेका छन् ।

चालकहरुको लापरबाहीका कारण सडक दुर्घटनामा परी धेरैको ज्यान जाने गरेको गुनासो बढिरहेका बेला ट्राफिक प्रहरीले चालकहरुलाई सम्मान गरेर सुरक्षित यात्राका लागि थप हौसला प्रदान गर्न सो कार्यक्रमको पनि शुभारम्भ गरेको हो । त्यस अवसरमा प्रहरी महानिरीक्षक खनालले यात्रुका लागि सधै भगवानको रुपमा रहेका चालकहरुले सुरक्षित ढंगले यात्रुहरुको यात्रा सफल बनाउने विश्वास व्यक्त गरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले नागरिकहरुको सुरक्षित यात्राको सुनिश्चितताका लागि प्रहरी प्रधान कार्यालयको निर्देशनमा दशैं लक्षित ‘सुरक्षित यात्राको शुभकामना कार्यक्रम’ देशभर संचालन गरिएको बताए । उनले यस कार्यक्रमले नागरिकको सुरक्षामा पनि महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

ट्राफिक प्रहरीले दशैंको पहिलो दिन आईतबारबाट सुरु गरेको सो अभियान देशभर ३ दिनसम्म संचालन हुनेछ ।