गोरखाको भीमसेन थापा गाउँपालिका– ७ बोर्लाङमा भएको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ४९६ ले स्वास्थ्य उपचार गराएका छन् ।
वडा कार्यालय र बरदान हस्पिटल गोरखाको संयुक्त आयोजनामा शनिबार भएको शिविरमा महिलाको पाठेघर, अन्य बिरामीको फोक्सो, कलेजो, आँखा जाँच, उच्च रक्तचाप जाँचलगायतका स्वास्थ्य सेवा प्रदान गरिएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिएका छन् ।
शिविरमा उपचार सेवा लिएकामध्ये १३० ले भिडियो एक्सरे सेवा, ४९ को निःशुल्क दन्त परीक्षण गराएका थिए। त्यस्तै शिविरमा पाँच गर्भवती महिलाको स्वास्थ्य परीक्षण तथा १८० जनाको ब्लड गु्रपिङ गरिएको थियो ।
शिविरमा आएका अन्यको सामान्य स्वास्थ्य परीक्षणसमेत गरिएकोे थियो । शिविरमा अल्ट्रासोनोलोजिष्ट डा प्रनिस पोखरेल नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले बिरामीको स्वास्थ्य उपचार गरेको हो । गाउँमा चिकित्सक आएर स्वास्थ्य जाँच गर्न पाएपछि स्थानीयवासी खुशी भएका थिए ।






