पोखरामा एउटै प्रणालीबाट खानेपानी वितरण : जिसी

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरभित्र एउटै खानेपानी प्रणालीबाट पानी वितरणको प्रस्ताव संघीय सरकारमा पठाइएको बताएका छन् । लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १५ औं वार्षिक साभारणसभामा उनले पोखराभित्र स्तरीय खानेपानी वितरणका लागि एउटै प्रणालीको विकास गरिनुपर्नेमा जोड दिएका हुन् ।

पोखरा उपमहानगरपालिकामा खानेपानी संस्थान र लेखनाथमा साना सहरीले खानेपानी वितरण गर्दै आएका छन् । अब एउटै महानगर भइसकेकाले २ वटा प्रणाली ठीक नभएकोसमेत स्पष्ट पारे । उनले पानी जडान शुल्क, मासिक महसुल र पानीको गुणस्तर समेत एउटै महानगरमा फरक हुन नहुने उल्लेख गरे ।

उनले स्मार्ट सिटीको परिकल्पना गरिरहँदा उपभोक्ता समितिमार्फत पानी वितरण, योजना सञ्चालन गर्ने कुरा नमिल्दो भएको उल्लेख गरे । स्मार्ट सिटीमा नागरिकका मौलिक हक कार्यान्वयनको दायित्वसमेत महानगरको हुने उनको भनाइ छ । उनले पोखरालाई चाहिने खानेपानीका मुहान गाउँपालिकामा पर्ने उल्लेख गर्दै बगेर जाने प्राकृतिक स्रोतलाई यो वा त्यो बहानामा उपयोगका लागि बाधा पु¥याउन नहुने स्पष्ट पारे ।

गण्डकी प्रदेश खानेपानी तथा ढल निकास बिभाग प्रमुख शिवेन्द्र झाले सबै नागरिक शुद्ध खानेपानीको पहुँचभन्दा बाहिर हुन नहुने उल्लेख गरे ।

लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. २६ का अध्यक्ष नारायणप्रसाद बराल, नेकपा कास्की नेता दामोदर बैरागी, नेपाली कांग्रेसका रामबाबु भण्डारी, पूर्व कोषाध्यक्ष गणेशबहादुर श्रेष्ठ, पूर्व अध्यक्ष बोधराज लामिछाने, लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, शारदा बास्तोला, कोषाध्यक्ष नारायणी भट्टराई लगायतले बोलेका थिए ।

उपभोक्ता संस्थाले २०६७ सालदेखि महानगरका २६, २७, २९, ३० र ३२ का अधिकांश र वडा नं. ३१ को आंशिक स्थानमा खानेपानी आपूर्ति गर्दै आएको छ । संस्थाले ११ हजार ९ सय १ र १ सय सामुदायिक धारबाट झण्डै १ लाख जनसंख्यालाई खानेपानी उपलब्ध गराउँदै आएको छ ।