पारसको कीर्तिमानी सतकले नेपालको सहज जित

सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटको दोस्रो खेलमा नेपालले आयोजक सिंगापुरमाथि सहज जित निकालेको छ । पारसले ५२ बलमा नटआउट १०६ रन बनाएपछि नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गर्यो । 

१५२ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभरमै जित निकाल्यो । पारसले ९ छक्का र ७ चौकाको मद्धतले १०६ रन बनाएका हुन् । 

आरिफ शेखले ३८ बलमा नटआउट ३९ रन बनाए । इशान पान्डेले भने ५ रन मात्र बनाए । उनले दोस्रो खेल खेलेका हुन् । 

यसअघि सन्दीप लामिछाने चल्न सकेनन् । उनले शनिबार राति भइरहेको खेलमा सिंगापुर विरुद्ध विकेट लिन सकेनन् । 

४ ओभर बलिङ गरेका उनले १८ रन खर्चेका थिए । पहिलो खेलमा जिम्बावेविरुद्ध भने उनले ३ विकेट लिएका थिए । 

खेलमा करण केसीले २ तथा सुसन भारीले १ विकेट लिएका थिए । सोमपाल कामी महंगा सावित भए । सिंगापुरले पहिले ब्याटिङ गर्दै ३ विकेटको नोक्सानीमा १५१ रन बनाएको थियो । 

यो जितले नेपालको फाइनल पुग्ने सम्भाबना बलियो भएको छ । जिम्बावे समेत सम्मिलित रहेको क्रिकेटको पहिलो खेलमा नेपाल जिम्बावेसंग ५ विकेटले पराजित हुन पुगेको थियो । नेपालले अब मंगलबार जिम्बावेसंग खेल्नेछ ।