फेवातालबाट २० ट्रक जलकुम्भी निकालियो (फोटो फिचरसहित)

पोखराको फेवाताल जलकुम्भी झारले ढाकिएपछि त्यसलाई हटाउन महानगरले अभियान सञ्चालन गरेको छ । भदौ अन्तिम साता आएको बाढीले बगाएर ल्याएको जलकुम्भी झारले फेवाताल पुरै ढाकेपछि कुरुप भएको थियो ।

ताल जलकुम्भी झारले ढाकेपछि आन्तरीक तथा बाह्य पर्यटकलाई ढुङ्गामा सयर गर्न समस्या भएको थियो । पोखरा महागरभित्र पर्ने फेवाताल जलकुम्भीमय भएपछि महानगरले झार व्यवस्थापन गर्न समिति नै गठन गरेर अभियान सञ्चालन गरेको छ ।

असोज ८ गतेदेखि महानगरले १ साताको कार्ययोजना बनाएर जलकुम्भी झार हटाउने अभियान सञ्चालन गरेको छ ।

जलकुम्भी झारले ढाकेको फेवातालमा सफाईमा जुटेका इटालीका नागरिक । फेवाताल सफाई अभियानमा क्रियाशील विभिन्न संघसंस्थासँगै नेपाल भ्रमणमा आएका इटालीका नागरिकहरु शनिबार फेवातालमा जलकुम्भी झार फाल्दै । तस्वीर : रासस

महागनरले सञ्चालन गरेको अभियानमा जनप्रतिनिधि, कर्मचारी, आमा समुह, लायन्स क्लब, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, ढुङ्गा व्यवसायी र जलारी समुदाय जलकुम्भी झार फेवातालबाट निकाल्न जुटेका छन् ।

अभियान सञ्चालन गरेको चार तीनमा फेवातालबाट २० ट्रक जलकुम्भी झार निकालिएको महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए । जलकुम्भी झार निकाल्नका लागि पोखरा महानगरपालिकाले सबै पोखरेली, संघसंस्था लगायत सबलाई सहयोग गर्न आग्रह गरेको छ ।

‘फेवाताल सवै पोखरेलीको शान भएकाले यसको संरक्षणमा सवैले सहयोग गर्नुपर्छ’, प्रशासकीय अधिकृत सुवेदीले भने, ‘फेवातालको संरक्षण गर्ने जिम्मेवारी र दायित्व सवैको हो ।’

जलकुम्भी झार हटाउन हरेक दिन विहान ७ देखि ९ बजेसम्म अभियान सञ्चालन गरिने उनले बताए । दैनिक फेवातालबाट झार निकाल्न ३ सयको संख्यामा मानिसहरु जुटेको जलकुम्भी झार व्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद पौडेलले बताए ।

फेवाताल जलकुम्भी झारमय भएपछि महानगरले पुण्य पौडेलको अध्यक्षतामा १३ सदस्यीय झार व्यवस्थापन समिति गठन गरेको थियो । सोही समितिले विभिन्न संघसंस्थासंग समन्वय गरेर दैनिक कार्ययोजना बनाएर झार निकाल्ने अभियान संञ्चालन गरिरहेको छ ।

फेवातालको बाराही घाटबाट सुरु भएको अभियान शनिबार हल्लनोक क्षेत्रमा पुगेको छ । अझै केही दिन जलकुम्भी झार फाल्ने अभियान सञ्चालन हुने र उक्त अभियानमा सहभागी हुन सबैलाई पोखरा महागनरपालिकाले आह्वान गरेको छ ।