ताजा समाचार

असाेज ११ गते २०७६

फूलपातीमा दाङमा साहित्य महोत्सव

दाङमा असोज १८ एक दिने लिट्रेचर मिनी–फेस्टिभल हुने भएको छ । साहित्य तथा कला क्षेत्रमा क्रियशील संस्था उदाहरण समूहले फूलपातीको अवसर पारेर महोत्सव गर्न लागेको कार्यक्रम संयोजक नवीन अभिलाषीले जानकारी दिए ।

‘समूहले विगत ५ वर्षदेखि विभिन्न साहित्य, कला र रंग क्षेत्रमा कार्यक्रम गर्दै आइरहेको छ,’ संयोजक अभिलाषीले भने, ‘यस पटकको हाम्रो कार्यक्रम अलि फरक किसिमको गर्दैछौं । यो कार्यक्रममा बहस बढी हुनेछन् ।’ महोत्सवमा साविक राप्ती क्षेत्रमा जन्मिएर बाहिर रहेका साहित्यकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । मिनी महोत्सव ३ सेसनमा चल्नेछ ।

समूहले शनिबार घोराहीमा पत्रकार सम्मेलन गर्दै मोफसल र राजधानीबीच साहित्यमा बढिरहेको दूरीबारे ‘डराइरहने दाङ र कराइरहने काठमाडौं’ शीर्षकमा पूर्वप्राज्ञ तथा वरिष्ठ समालोचक डा. अमर गिरी, कथाकार नवीन विभाष र कवि विष्णु सन्न्यासबीच बहस हुने भएको छ । ‘सुदुरका सञ्चारमा सिर्जना’सेसनमा सञ्चार क्षेत्रमा राप्तीको उपस्थितिबारे बहस हुने भएको छ ।

‘यस सेसनमा राप्ती साहित्य परिषद्का वरिष्ठ उपाध्यक्ष टीकाराम उदासी, बाह्रखरीका साहित्य तथा कला सम्पादक लेनिन बन्जाडे र पत्रकार नरेन्द्र केसीबीच बहस हुने छ,’ समूहका सदस्य घनश्याम अस्तित्वले भने ।

महोत्सवको तेस्रो सत्र ‘गाउँ फर्किरहेका अक्षरहरु..’मा दशैंको अवसर पारेर घर फर्किएका दर्जनबढी कविले आफ्ना रचना राख्नेछन् । महोत्सवमा राप्तीको भूगोलबाट काठमाडौं र अन्य बाहिरी जिल्लामा बस्ने १ सय ५० बढी कवि, लेखक, पत्रकार, कलाकार, समालोचक, राजनीतिक व्यक्तित्वको सहभागी हुने आयोजकले जनाएको छ ।

नेपाली कला, साहित्य र संगीतको क्षेत्रमा मोफसलमा सिर्जनात्मक र हस्तक्षेपकारी भूमिका खेल्ने उद्धेश्यले २०७१ सालमा कलेज कविता अभियानमार्फत सुरु भएको युवा श्रष्टाहरुको यो अभियान २०७३ सालदेखि उदाहरण समूहमा परिवर्तन भएको थियो । समूहले हालसम्म ‘गणतन्त्र र कविताहरु’, ‘५० नाघेका कवि र कविताहरु’, ‘चुल्हो नाघ्दै आगोका कविताहरु’, ‘भिडियोमा कविताहरु’ लगायत दर्जनबढी रचनात्मक कार्यक्रम गरिसकेको छ ।


Loading...