ताजा समाचार

असाेज ११ गते २०७६

फेसबुकले लाइक बटन हटाउँदैछ ! त्यसपछि के हुन्छ ?

सेप्टेम्बर पहिलो साता सामाजिक सञ्जाल फेसबुकले लाइकको गणना हटाउने तयारी गरिरहेको समाचार विभिन्न अन्तर्राष्ट्रिय मिडियामा आए ।

फेसबुकले भने औपचारिक रुपमा त्यस्तो घोषणा गरेको छैन । त्यतिबेला प्रकाशित समाचारमा विध्वंसात्मक रुपमा प्रयोगकर्ताले अरुसँग तुलना गर्न थालेकाले त्यसो गर्न लागिएको फेसबुकका कतिपय अधिकारीहरुले बताएका थिए । 

लाइक धेरै पाएन भने आफूलाई कमजोर ठान्ने र मनोवैज्ञानिक रुपमा नै यस्तो समस्या देखिएको ती समाचारमा जनाइएका थिए । नजानेरै विश्वका दशौं लाख मानिस मानसिक रोगको शिकार हुनुपरेको समेत अन्तर्राष्ट्रिय समाचारमा उल्लेख थिए ।

फेसबुकमा सन् २००९ देखि नै लाइक बटन रहेको छ । त्यसपछि प्रयोगकर्ताको मुख्य केन्द्र नै यही भइरहेको छ । आफूले पोस्ट गरेका सामग्रीमा कति लाइक र कमेन्ट आए भनेर प्रयोगकर्ता अल्मलिने गरेका छन् । बेलायतको टेलिग्राफ पत्रिकाको सेप्टेम्बर २ को अंकमा फेसबुकले लाइक बटन नै चाहिं नहटाउने तर कति लाइक आए भन्ने नदेखाउने तयारी गरेको उल्लेख गरिएको थियो । 

लाइक काउन्ट हटाउनका लागि टेस्ट गरिरहेको त्यतिबेला फेसबुकका अधिकारीलाई उद्धृत गर्दै सो समाचारमा जनाइएको थियो । उता इन्स्ट्राग्रामले केही क्यानडेली प्रयोगकर्ताका लागि लाइक हटाएको जनाइएको थियो । 

अन्य देशमा पनि त्यसलाई विस्तारै विस्तार गरिने त्यतिबेला चर्चा थियो । इन्स्ट्राग्रामले चाहिं औपचारिक रुपमै आफूले लाइकका कारण प्रयोगकर्तालाई पर्न गएको दबाब हटाउन चाहेको जनाएको थियो । 

इन्स्ट्राग्रामका कार्यकारी प्रमुख आडम मोस्सेरीले आफूहरुले यो परिवर्तनलाई स्थायी बनाउन चाहेको उल्लेख गरेका थिए । 

फेसबुक र इन्स्ट्राग्रामकै अधिकारीहरुले पनि सुरुमै यस खालको बटन राखिएकोमा खेद व्यक्त गरेको समेत त्यतिबेला चर्चा भएको थियो ।

त्यसबाटे अस्वस्थ वातावरण सिर्जना भएको भन्ने उनीहरुको भनाई थियो । मनोवैज्ञानिकहरुका अनुसार लाइक बटनका कारण मानिसहरुलाई सामाजिक सञ्जालको लत नै देखिने गरेको छ । 

कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले आफूले लाइक नपाउने जस्तो देखियो भने पोस्ट गरेका सामग्री नै हटाउने गरेको समेत पाइएको छ ।  सन् २०१६ मा फेसबुकले  प्रतिक्रिया जनाउन मिल्ने खालका बटन समेत राखेको थियो ।  जसमा लाइकका अतिरिक्त,  निराशा, आक्रोश र आश्चर्य प्रकट गर्ने खालका बटन समेत राखिएका थिए । 

फर्बिजको यही सेप्टेम्बर १५ मा प्रकाशित एउटा आलेखमा फेसबुकले हालैको घोषणामा लाइक लुकाउने तयारी गरेको उल्लेख छ । प्रयोगकर्तालाई इर्श्या र सेल्फ सेन्सरबाट आफैँलाई विघटन हुनबाट जोगाउनका लागि चाँडै त्यस्तो गर्न लागेको समाचारमा उल्लेख छ । इन्स्ट्राग्रामको हकमा यसअघि नै सातवटा देशमा यसको प्रयोग भएको जनाइएको छ । जसमा क्यानडा, ब्राजिललगायतका देश रहेको छ ।

लाइक नदेखाउँदा यसले विध्वंसात्मक रुपमा मानिसलाई अरुसँग तुलना गर्ने अवस्थाबाट जोगाउने जनाइएको छ । यसले आफ्ना पोस्ट डिलिट गर्नबाट समेत प्रयोगकर्तालाई रोक्ने आकलन गरिएको छ । 

तर, कसरी यो प्रक्रिया अघि बढाउने भन्ने बारेमा फेसबुकले अहिले प्रयोग मात्रै गरिरहेको जनाइएको छ । त्यसको केही असर अहिले नेपालमा पनि परिरहेको फेसबुक प्रयोगकर्ताहरुले बताइरहेका छन् । 

लाइकले गर्दा मानिसहरुले आफू अनपपुलर भएको सोच्ने र त्यसले अन्य काममा पनि असर गर्ने अनुसन्धाताहरुको भनाइ रहेको छ । यसबाट युवा पुस्ता अझ बढी प्रभावित रहेको उनीहरुको तर्क छ ।  केहीअघि फेसबुक प्रोटोटाइप एन्ड्रोइड एपका इन्जिनियर मास्टर जाने मान्चुन वङ्गले लाइकको बटनका बारेमा निर्णय गर्ने बारेमा आफूहरुले सोचिरहेको जनाएको उल्लेख गरेका थिए ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले यही सेप्टेम्बर १७ का दिन फेसबुकमा के राख्ने वा के नराख्ने भन्ने निर्णय गर्नका लागि ४० जना रहने ओभरसाइट बोर्ड बनाउने घोषणा गरेका थिए । त्यसले के राख्न सक्ने र के नसक्ने भन्ने जटिल समस्याको बारेमा सम्बोधन गर्ने जनाइएको थियो   । 


Loading...