मांगालिक योग : मानिसको जन्मको समयलाई आधार मानेर तयार पारिने चिना वा जन्म कुण्डली हेरेर यो कुरा पत्ता लगाउन सकिन्छ । मानिस जन्मिएको समयमा मंगल ग्रह सौरमण्डलमा कस्तो अवस्थामा थियो ।
यसैका अनुसार मांगलिक योग पत्ता लाग्ने गर्दछ । चिनाको लग्न कुण्डलीको १२ वटा भाव मध्ये ५ वटा भाव या घरमा मंगल ग्रह बसेको अवस्थामा मांगलिक योग बन्ने गर्दछ ।
लग्ने व्यये च पाताले जामित्रे चाष्टमे कुजे ।
पत्नी हन्ति स्वभर्तारं भर्ता भार्यां विनाशयेत् ।।
अर्थात् लग्न कुण्डलीको १, ४, ७, ८, १२ भावमा मंगल ग्रह बसेको खण्डमा मांगलिक योग निर्माण हुने गर्दछ । यही योगमा जन्मेका मानिसलाई मंगले भनिन्छ । यदि कुण्डलीमा मांगलिक योग लिएर जन्मिएको छ भने त्यस्ता व्यक्तिहरूको त्यस्तै मांगलिक नै वर या बधु खोजेर विवाह गर्नुपर्दछ ।
ज्योतिष शास्त्र अनुसार केटा वा केटी कुनै १ जनाको मात्र मांगलिक योग छ र अर्को को मांगलिक योग छैन र २ जनाको विवाह भयो भने मांगलिक योग भएकोले मांगलिक योग नभएको जीवन साथीलाई पिर्छ भन्ने मान्यता छ ।
मांगलिक योगमध्ये पनि सातौं र आठौंको मांगलिक योगलाई अझै कडा योग मानिन्छ जसलाई सतमंगले र अष्टमंगले भनिन्छ । मांगलिक योग भन्दैमा डराउन भने पर्दैन । किनकि यसको निवारण गर्ने पनि निकै उपायहरू छन् ।

मांगलिक योगको दोष नलाग्ने परिस्थतिहरू
(१) मांगलिक योग भएको साथीसँगै बिवाह भएमा,
(२) शनि ग्रह कुण्डलीको १, ३, ७, ९, १२ स्थानमा भएमा
(३) चन्द्रमा र शुक्र कुण्डलीको दोश्रो भावमा भएमा
(४) बृहस्पतिले मंगल ग्रहलाई देखेमा,
(५) राहु कुण्डलीमा १, ४, ७, १० भावमा बसेमा र
(६) कुण्डलीमा मंगल तथा राहु एकै स्थानमा भएमा
यी माथि उल्लेख गरिएका कुराहरू कुण्डलीमा छन् भने मांगलिक दोष लाग्दैन । र यस्तो अवस्थामा मांगलिक योग भंग हुन्छ भन्ने ज्योतिष शास्त्रको मान्यता छ ।
त्यसैले कुण्डलीमा त मांगलिक योग परेको छ भनेर मंगल ग्रहको मात्र विचार गरेर चिन्ता लिनुपर्ने देखिँदैन । यसका यस्ता विभिन्न प्रकारका योगहरूले ती योगहरूलाई भंग गरिरहेका हुन्छन् । त्यसैले मांगलिक योग छ भनेर चिन्ता गर्नु भन्दा पनि योग्य ज्योतिषीसंग कुण्डलीको विचार गर्नु नै राम्रो हुन्छ ।
यदि मांगलिक योग भंग भएको छैन भने पनि यसको समाधानको लागि पुरुषहरूको अर्क विवाह र महिलाहरूको कुम्भ विवाहको विधानले मांगलिक शान्ति गर्न सकिन्छ भन्ने धर्मशास्त्र र ज्योतिष शास्त्रको मान्यता छ ।
वैवाहिक जीवनमा मांगलिक योगले केही बाधा गरे पनि व्यवसायको क्षेत्रमा भने मांगलिक योग को निकै राम्रो प्रभाव रहने देखिन्छ ।






