ताजा समाचार

असाेज १० गते २०७६

कन्या माविका विद्यार्थीलाई न्यानो कपडा

भूतपूर्व विद्यार्थी संंघ कन्या मावि पोखराले छात्राहरूलाई न्यायो कपडा वितरण गरेको छ ।

शुक्रबार विद्यालय परिसरमा एक कार्यक्रम आयोजना गरी कक्षा ८ मा अध्ययनरत विद्यार्थीलाई स्वीटर वितरण गरेको हो । कक्षा ८ मा अध्ययन गर्ने ४७ जना छात्रालाई स्वीटर प्रदान गरिएको थियो ।

शुक्रबार वितरण गरिएको रातो रंगको स्वेटर विद्यार्थीहरूको जाडोको पोशाक पनि हो । जाडोको मौसम शुरु हुन लागेसँगै छात्राहरूले न्यायो पोशाक लगाइ सहजरुपमा अध्ययन गर्न सकुन् भनेर सहयोग प्रदान गरेको संस्थाकी उपाध्यक्ष रजनी कोइरालाले जानकारी दिइन् ।

कोइरालाका अनुसार यसअघि पनि पूर्व विद्यार्थीहरूको संस्थाले छात्राहरूसँग मर्यादित महिनावारी बारे सचेतना कार्यक्रम, सेनेटरी प्याड वितरण र प्याड व्यवस्थापन गर्ने डष्टविन वितरण कार्य गरेको छ । आगामी दिनमा शैक्षिक तथा अरु भौतिक पूर्वाधारका कार्य गर्ने लक्ष्य रहेको संस्थाकी अध्यक्ष रेखा मर्सानीको भनाइ छ ।

कार्यक्रममा संस्थाकी अध्यक्ष मर्सानी, उपाध्यक्ष कोइराला र विद्यालयका प्रध्यानाध्यापक प्रेमबहादुर बुढाथोकीले बोलेका थिए ।

युकेमा रहेका पूर्व विद्यार्थीहरूले न्यायो कपडा वितरणका लागि आर्थिक सहयोग संकलन गरेको संस्थाले जानकारी दिएको छ ।

संघकी कार्यसमिति सदस्य विष्णु गुरुङको संयोजकत्वमा युकेमा अर्थ संकलन भएको थियो । पोखराको कन्या माविमा विभिन्न समयमा अध्ययनन गरेका पूर्व विद्यार्थीहरूको पहलमा सो संघको स्थापना भएको हो ।

पोखरामा केन्द्रीय कार्यसमिति सहित काठमाण्डौं, युके लगायतमा अन्य समितिहरू सक्रिय रहेको पनि सो अवसरमा जनाइएको छ ।


Loading...