आइजीपी खनाललाई बर्खास्त गर्ने तयारी !

भ्रस्टाचारमा मुछिएका प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाललाई सरकारले बर्खास्त गर्ने तयारी गरेको छ।

करोडौं रकम आर्थिक अनियमिताको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयमा छापा मारी अनुसन्धानलाई तीब्रता दिएसँगै उनलाई बर्खास्त गर्न गृहकार्य सुरु भएको हो। यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओली तथा गृहमन्त्री रामबहादुर थापाबीच छलफल भएको छ।

‘एकपछि अर्को प्रकरणमा मुछिँदै गएका महानिरीक्षक खनाल भ्रष्टाचार मुद्दामा अख्तियारको छानबिन दायरामा परेपछि बर्खास्त गर्ने तयारी भएको छ’, गृहमन्त्री रामबहादुर थापा निकट उच्च स्रोतले भन्यो, ‘चिनियाँ राष्ट्रपति सी चिङफिङको भ्रमण अगाडि बर्खास्त गर्ने कि पछाडि भन्ने विषयमा छलफल भइरहको छ। परिस्थिति विश्लेषण गरेर निर्णय हुनेछ।’

आफ्नो पद जोगाउने खनालको अन्तिम प्रयास सार्थक भएन र परिस्थितमा कुनै परिवर्तन आएन भने चिनियाँ राष्ट्रपतिको भ्रमण अघि वा लगत्तैपछि खनाललाई बर्खास्त गर्ने गृहकार्य सरकारले गरेको छ।

पछिल्लो पटक खनाल तीन वटा छुट्टा छुट्टै भ्रस्टाचार प्रकरणमा मुछिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयमा छापा मारी तीन प्रकरणका २ वर्षदेखिका फाइल नियन्त्रणमा लिएर अनुसन्धानलाई तीब्रता दिएको छ।

(पहिलो) भीभीआइपी/भीआइपीका लागि ३० वटा एस्कर्टिङ मोटरसाइकल खरिद गर्दा स्पेसिफिकेसन परिवर्तन गरी अनियमितता गरिएको अभियोग खनालमाथि छ। (दोस्रो) बुट, सर्ट/पाइन्ट, पिकअप भ्यान, मेसिनरी औजार खरिदमा भ्रस्टाचार आरोपमा अख्तियारले छानबिन गरिहेको छ। (तेस्रो) महानिरीक्षक खनालले गुणस्तर परीक्षण फेल भएर फिर्ता भइसकेका बुट आर्थिक अनियमितता गरी स्वीकार गरेको अभियोग छ।

अख्तियारले तीब्र रुपमा अनुसन्धान गरिरहेका यी तीन वटै प्रकरणमा करोडौंको घोटाला भएको अनुमान छ। यसको केन्द्रमा प्रहरी महानिरीक्षक खनाल छन्।

बिमस्टेक राष्ट्रहरूको सुरक्षा बैठकमा परराष्ट्र नीतिविपरित भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको प्रस्तावमा समर्थन जनाएको, निर्मला प्रकरणमा सन्देहपूर्ण भूमिका निर्वाह गरेको एवं फेक इन्काउन्टर घटनाका कारण सरकारलाई आलोचनामा पारेपछि प्रधानमन्त्री ओली एवं गृहमन्त्री थापा पहिलेदेखि नै आइजीपीसँग असन्तुष्ट थिए।

अमेरिकाको सिकागोमा अक्टोबर २६ देखि २९ सम्म विश्वका प्रहरी प्रमुखहरुको सम्मेलन हुँदैछ। खनाललाई आएको निमन्त्रणा पत्र स्वीकृतिका लागि गृह पुगेको थियो।

मंगलबार भएको मन्त्रीपरिषद बैठकले खनालको प्रस्तावित अमेरिका भ्रमणलाई स्वीकृति दिएन। गृहले आइजीपी खनालको अमेरिका भ्रमण रोकेर बर्खास्तको अवस्थाबारे विश्लेषण थालेको हो। यो समाचार नेपालखबरले लेखेको छ ।