दशैंको मुखमा काठमाडौंको नागढुंगा छिचोलेर गल्छी आइपुग्न मात्रै सवारीले ८ घण्टा लाग्न थालेको छ ।
सरकारले पानी पर्नु अघिसम्म हेलचक्र्याइँपूर्वक अपायक समयमा सडकमा खाल्डा टाल्ने नाममा अहिले ‘मान्द्रे’ पिच ओछ्यारहेको थियो ।
पानी परेपछि त्यो पनि रोकिएको छ । सडकमा ठूला–ठूला खाल्डा परेकाले मालबाहक ट्रक तथा ट्रेलरहरु नागढुंगाको ओरालोमा बल्ल–तल्ल उक्लिँदैछन् ।
महानगरीय प्रहरी प्रभाग थानकोटका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्का ३ दिन यता जाम झनै विकराल बनेको बताउँछन् ।
‘पानी परेपछि जीर्ण सडक झन कामै नलाग्ने भएको छ । उकालोमा लोड बोकेर आएको गाडी घ्यार्र–घ्यार्र गर्छ,’ उनले भने, ‘गाडी उक्लिन समय लाग्ने भएपछि त्यसको असरले दुई पट्टी नै सवारी जाम हुन्छ ।’
प्रहरीले रातदिन नभनी व्यवस्थापन गर्दा पनि जाम घटाउन नसकेको खड्का बताउँछन् । अझ उकालोका मोडमा ठूला सवारीहरु भेट हुँदा सवारीहरु रोकिनुपर्ने र त्यसको व्यवस्थापन गरेर जाम खुलाउन सकस भइरहेको छ ।
‘उकालोमा सवारी रोकिँदा त्यसलाई तान्न एटा र्याकर छ, आज मात्रै त्यसले ६–७ वटा गाडी तान्यो,’ उनले भने, ‘र्याक र मोबाइल भ्यान जसरी दौडाउनुपरेको छ । हरेक समयमा सडकमा बसेर सवारी व्यवस्थापन गर्दा पनि प्रभाव देखिएको छैन ।’
प्रहरीका अनुसार पानी पर्न नरोकिएसम्म यो जाम कायम रहने देखिन्छ । सडक विभागको खाल्डा पुर्ने काम पनि वर्षाले प्रभावित गरेको छ । प्रहरी निरीक्षक खड्काका अनुसार हाल दशैंका कारण सवारीको आवागमनमा ठूलो वृद्धि भएको छ ।
ठूला सवारीहरु मालसमान बोकेर भित्रिने क्रम पनि उच्च भएको छ । यसका कारण नागढुंगामा सवारीको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । यो समाचार अनलाइनखबरले लेखेको छ ।






