म पनि द्वन्द्व पीडित हुँ : प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने बाहेक आफ्नो कुनै राजनीतिक ध्येय नरहेको दावी गरेका छन् ।

 तत्कालीन माओवादी विद्रोहका सुप्रिम कमाण्डर समेत रहेका अध्यक्ष प्रचण्डले संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउने वातावरण बनाउन आफूले अमेरिका, भारत, चीन र युरोपका विभिन्न मुलुकसँग पनि लगातार प्रयास गरिरहेको दावी गरे ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले द्वन्द्वकालको आफू स्वयम् पीडित भएको उल्लेख गर्दै संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन आफूले प्रधानमन्त्रीको रुपमा, राजनीतिक नेतृत्वको रुपमा निरन्तर पहल गरिरहेको पनि बताए ।

अध्यक्ष प्रचण्डले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने अनुकूल वातावरण बनेको उल्लेख गर्दै त्यसलाई छिट्टै टुंगोमा पुर्‍याउनुपर्नेमा पनि जोड दिए ।

उनले संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन ढिलाई हुनुमा राजनीतिक नेतृत्व नै दोषी रहेको उल्लेख गर्दै अब सत्ता र प्रतिपक्ष दुवै दल सो समस्यालाई समाधान गर्न प्रतिबद्ध रहेको पनि बताए । अब पनि संक्रमणकालीन न्याय टुंगोमा नपुर्याए संघीय लोकतान्त्रिक गणतन्त्र आफै गुम्ने खतरा रहेको अध्यक्ष प्रचण्डको चेतावनी थियो ।

अध्यक्ष प्रचण्डले तत्कालीन विद्रोही माओवादीको नेतृत्वको हैसियतले शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याउनु नसक्नुको दोष आफू लिन तयार रहेको पनि पटक पटक दोहोर्याए ।