ताजा समाचार

असाेज ९ गते २०७६

निजी मेडिकल कलेजको स्वामित्व सरकारले लिएर चलाओस् : अनेरास्ववियु

सत्तारूढ नेकपा निकट अनेरास्ववियूले सरकारलाई निजी मेडिकल कलेजको स्वामित्व लिएर आफैं सञ्चालन गर्न आग्रह गरेको छ । निजी मेडिकल कलेज सञ्चालकले कलेज चलाउन नसक्ने भन्दै सरकारलाई साँचो बुझाउने भनेपछि अनेरास्ववियूले यस्तो आग्रह गरेको हो ।

अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महरले विज्ञप्ति निकालेर भनेका छन्, ‘राज्यको नीति नियममा बसेर साँच्चिकै कलेज चलाउन नसक्ने हो भने राष्ट्रिय चिकित्सा शिक्षा ऐनको प्रावधान समेतलाई दृष्टिगत गर्दै त्यस्ता कलेजहरुको जिम्मा लिएर आफैं सञ्चालन गर्न वा राज्यको नीति नियम मान्ने अन्य निकायलाई सञ्चालन गर्ने जिम्मा दिन नेपाल सरकारलाई आहृवान गर्दछौं ।’

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४१ को उपदफा २ बमोजिम शिक्षण संस्थाले सरकारलाई सम्पत्ति हस्तान्तरण गर्न चाहेमा सरकारले उचित मुआब्जा दिई स्वामित्व ग्रहण गर्न सक्ने व्यवस्था छ ।

सरकारले तोकिदिएको भन्दा बढी शुल्क लिन नपाउने निर्णय सरकारले गरेपछि निजी मेडिकल कलेज सञ्चालकले विद्यार्थी भर्ना नगर्ने र कलेजको साँचो सरकारलाई बुझाउने घोषणा गरेका छन् ।

सरकारले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस तहमा उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ५० हजारभन्दा बढी शुल्क लिन नपाउने मापदण्ड तय गरेको छ । तर, निजी मेडिकल कलेज सञ्चालक त्यसविपरीत मनपरि शुल्क लिँदै आएका छन् ।


Loading...