प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै पर्यटकहरुको सुरक्षामा थप सक्रिय हुन पर्यटक प्रहरीलाई निर्देशन दिएका छन् ।
पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपमा बुधबार पर्यटक प्रहरी एकाइहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै उनले पर्यटक प्रहरीले सम्पूर्ण देशकै प्रतिनिधित्व गर्ने भएकाले व्यवहार, बोली, बचन, पोशाकलगायत नमूनायोग्य काम गर्न र पर्यटकलाई सकारात्मक प्रभाव पार्ने गरी जिम्मेवारी पूरा गर्न निर्देशन समेत दिएका छन् ।
प्रहरीले पर्यटनसँग सम्बन्धित निकायहरु पर्यटन बोर्ड तथा पर्यटन मन्त्रालयसँग थप समन्वय गरेर काम गर्नुपर्ने उल्लेख गर्दै पर्यटक प्रहरीले समस्यामा परेका पर्यटकलाई जति छिटो सहयोग गर्न सक्छ, त्यसले नै प्रहरी र राष्ट्रको छवि राम्रो बन्छ भनेका छन् ।






