श्री एयरलाइन्सले ज्येष्ठ नागरिकका लागि हवाइ भाडामा छुट योजना ल्याएको छ । कम्पनीले ८५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई ५ सय रुपैयाँमै यात्रा गराउने भएको छ । असोज १२ गतेबाट छुट योजना लागू हुने एयरलाइन्सका बजार व्यवस्थापक अनिल मानन्धरले जानकारी दिएका छन् ।
यसैगरी ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भने इन्धन र कर बाहेकको भाडामा ५० प्रतिशत छुट दिने भएको छ । यो छुट रकम अफर भाडामा भने लागू नहुने कम्पनीले जानकारी दिएको छ ।
श्री एयरलाइन्सले अहिले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा नियमित उडान गर्दै आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने भन्दै तयारी थालको बेला एयरलाइन्सले यस्तो अफर ल्याएको छ ।
केही दिन अगाडि मात्रै नेपाल एयरलाइन्सले पनि आन्तरिक उडानमा ७० वर्षमाथिका नागरिकलाई ५० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको थियो ।






