ताजा समाचार

असाेज ५ गते २०७६

नून–सुन किन्न ‘पानी पँधेरो’

पोखराको बगरमा आइतबारबाट नयाँ डिमार्टमेन्टल स्टोर्स औपचारिक रुपमा सञ्चालनमा आएको छ । बगर, सिम्पानी क्षेत्रका बासिन्दालाई सपिङ सहज बनाउन भीमकालीपाटन, बगरमा खुलेको पानी पँधेरो हाँस्यकलाकार एवं सामाजिक अभियान्ता सीताराम कट्टेल (धुर्मस) र कुञ्जना घिमिरे (सुन्तली)ले उद्घाटन गरे ।

यसमा पोखराका १४ व्यवसायीले करिब ६ करोड लगानी गरेका छन् । यो क्षेत्रमा खुलेको पानी पँधेरो पहिलो डिपार्टमेन्टल स्टोर्स हो । स्टोर्समा अहिले पोखरामा व्यापार, व्यवसाय गरेका र वैदेशिक रोजगारीमा गएर फर्किएका युवाको लगानी छ । धुर्मुसले व्यक्तिगत फाइदको कलाकारिता सँगसँगै देशकै हितका लागि अभियानमा लागेको बताए ।

उनले पोखरा आफूहरुका लागि पानी पँधेरो भएको चर्चा गर्दै उनले व्यवसायमार्फट समाजमा योगदान गर्न आग्रह गरे । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउँदै छ ।

अभियन्ता धुर्मुसले निस्वार्थ भावनाले देशका लागि काम गर्न चालेको उल्लेख गर्दै सहयोगका लागि आग्रह गरे । उनले भने, ‘मैले उनलाई, उनले मलाई पर्दामा जिस्क्याउँदैमा जीवन चलेकै थियो । देशका लागि केही गर्ने प्ररणाले अभियान चलायौं ।’ सुन्तलीले नेपालीले चाहे देश बन्न असम्भव नरहेको औंल्याइन् । उनले भनिन्, ‘हामीले बनाउँछौ भनेका छौं । ३ करोड नेपालीको साथ रहे यो रंगशाला किन बन्दैन, जरुर बन्छ ।’ धुर्मुस सुन्तली फाउन्डेसनलाई सोही कार्यक्रममा पम्फा देवकोटाले १० हजार हस्तान्तरण गरिन् ।

चाडै पोखराका विभिन्न क्षेत्रमा शाखा खोल्ने योजना सञ्चालक कुमार बरालले सुनाए । उनले पोखरा र यस क्षेत्रको नमुना बजारको रुपमा स्टोर्सलाई चिनाउने उल्लेख गरे । उनले भने, ‘जसरी ग्रामीण जीवनमा पानी पँधेरो दिनदिनै चाहिन्छ, यहाँका मानिसको जीवनको त्यस्तै आवश्यकता हामी बन्न चाहन्छौं ।’ अर्का सञ्चालक डा. ढाकाकुमार श्रेष्ठले केही युवाले मिलेर विकासको खुड्किलो थालेको बताए । उनले भने, ‘कम्पनीबाट सोझै सामान किनेर उपभोक्तालाई सुलभ दरमा उपलब्ध गराउँछौं ।’

छोरेपाटन, विरौटा र तालचोकमा शाखा खोल्ने प्रालिले योजना बनाएको छ । ११ हजार स्क्वायर फिटमा सञ्चालनमा आएको ट्रेड प्रालिमा दैनिक उपभोग्य सम्पूर्ण सामग्री सुपथ मूल्यमा किन्न सकिने अर्का सञ्चालक कुलदीप भट्टराईले बताए ।

लत्ताकपडा, किचन सामग्री, खाद्यान्न, स्पोर्टस्, बच्चाका खेलौना, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल्स सामान, मदिरा लगायत ग्राहकको रोजाइ अनुसारको सामान यहाँ बिक्री वितरण गरिने प्रवन्ध निर्देशक खेमप्रसाद तिमिल्सिनाले बताए । पानीपँधेरोस्टोर्स डटकमबाट अनलाइनमा कारोबार र होम डेलिभरीको सुविधा पनि सुरु भएको छ ।

प्रालिका अध्यक्ष कीर्ति भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक खिमप्रसाद तिमिल्सिना, युवराज भण्डारी (पोखरेली माग्ने बूढा), नेपाल सन लाइफ इन्स्योरेन्स पोखरा प्रमुख अखिल धमला, पत्रकार यदुनाथ बञ्जारा, ज्योतिप्रकाश ढुंगाना लगायतले बोलेका थिए ।


Loading...