ताजा समाचार

असाेज ५ गते २०७६

बैंकका पूर्व सीईओ अजय श्रेष्ठसहित ११ जना पक्राउ

बैंक अफ काठमाण्डुबाट भएको साढे ४ करोड कर्जा हिनामिनामा पुर्व सीईओ सहित ११ जना पक्राउ परेका छन् । नक्कली जग्गा धितो राखेर सर्वसाधारणको निक्षेप हिनामिना गर्ने कार्यमा संलग्न बैंकका कर्मचारीसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताएका छन्।

पक्राउ पर्नेमा बैंकका तत्कालीन सीईओ अजय श्रेष्ठ, ऋणी सुरेन्द्र श्रेष्ठ, बैंकका कर्मचारीहरू सुष्मा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारीलगायत रहेको प्रहरीले जानकारी दिएको छ । पूर्व सीईओ श्रेष्ठलाई शुक्रवार पक्राउ गरिएको र अन्यलाई यसअघि नै नियन्त्रणमा लिइएको एसपी पाण्डेले जानकारी दिए । उनका अनुसार केही आरोपी अझै फरार रहेका छन् ।

सीआईबीका अनुसार खोलाभित्रको जग्गा धितो राखेर ऋण स्वीकृत गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । बैंकका कर्मचारीहरुले खोलाको जग्गा देखाएर नक्कली लालपुर्जा लिएर कर्जा स्वीकृत गरेको पाइएको छ, जतिबेला श्रेष्ठ बैंकको सीईओ थिए । पक्राउ परेकाहरुको बयान लिने र थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।


Loading...