धारापानी आमा समूह पोखरा ५ को पाँचौ साधारणसभा शुक्रबार भएको छ । सभामा पोखरा ५ का अध्यक्ष धनबहादुर नेपालीले महिलाको समान सहभागिताबिना समाज अघि बढ्न नसक्ने बताए ।
उनले समृद्धि, विकास र सभ्यतामा महिला र पुरुषको समान सहभागिता, उत्तरदायित्व र अधिकारले मात्र समुन्नत समाज निर्माण हुने बताए । महिलालाई सशक्तीकरण गर्न आर्थिक रुपमा उनीहरुलाई सक्षम बनाउनु जरुरी रहेको उनले औंल्याए ।
पोखरा वृहत सफाइ अभियानका संयोजक रामबहादुर पौडेलले नेपाली समाजमा सरसफाइ, घर सञ्चालन, बालबच्चाको उत्तरदायित्व महिलामा बढी रहेको उल्लेख गर्दै महिला सचेत र जागरुक भए समाज चाडै समृद्ध बन्ने बताए ।
कार्यक्रममा पोखरा ५ का वडा सदस्यहरु उज्ज्वल खत्री र हरिमाया विक, सल्लाहकार हरिचन्द्र अधिकारी, संस्थाका सल्लाहकार धन पण्डित लगायतले बोलेका थिए ।
समूहका अध्यक्ष कल्पना क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सीता अधिकारीले स्वागत र सचिव मीरा केसीले सञ्चालन गरेका थिए ।
संस्थाका ३ सदस्य सरस्वती गिरी, मीना अधिकारी, शान्ति भण्डारी र कलाकारहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो । समूहका कलाकारहरुले विभिन्न तीजगीत प्रतियोगितामा पुरस्कार प्राप्त गरेका थिए । रेडियो जननीले आयोजना गरेको प्रतियोगितामा प्रथम र मालेपाटन खुला तीजगीत प्रतियोगितामा समूह तृतीय भएको थियो ।
समूहले सचेतना, सशक्तीकरण जस्ता विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ ।






