लेखा प्रणाली र कर नीतिबारे अभिमुखीकरण

सनराइज बैंक लिमिटेड र पोखरा महिला चेम्बर अफ कमर्स कास्कीले महिला चेम्बरका सदस्यलाई शनिबार आधारभूत लेखा तथा कर नीतिसम्बन्धी अभिमुखीकरण तालिम दिएका छन् । ‘वित्तीय साक्षरतामा हामीसँगसँगै’ भन्ने नाराका साथ बैंकको १२ औं वार्षिकोत्सवको अवसरमा कार्यक्रम भएको हो ।

गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले महिला उद्यमी उच्च मनोवलका साथ व्यवसायमा लाग्नुपर्ने बताइन् । ‘व्यवसायीले लेखा अनिवार्य रुपमा जान्नु पर्छ,’ उनले भनिन्, ‘लेखा प्रणाली चुस्त, दुरुस्त नभए नाफा नोक्सान थाहा हुँदैन ।’ महिलाले घर, परिवार र समाजका गरेको कामको गणना हुन नसकेको उल्लेख गर्दै उनले महिला सीपमूलक तालिम लिएर आय आर्जनमा जुट्नुपर्ने धारणा राखिन् ।

उनले व्यवसायी घर भाडाको धरौटी र विचौलियाको मारमा परेको उल्लेख गरिन् ।
बैंकका चिफ म्यानेजर हरिप्रसाद आचार्यले सरस्वती, लक्ष्मी र दुर्गा जस्तै महिला ज्ञान, अर्थ र शक्तिको स्रोत भएको बताए । नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष यदुनाथ अधिकारीले करको दरभन्दा पनि दायरा बढाउनुपर्ने सुझाव दिए । उनले एकद्वार प्रणालीबाट कर तिर्ने व्यवस्था हुनुपर्ने माग गरे ।

पोखरा चेम्बर अफ कमर्स कास्की अध्यक्ष किसान सुनारले बैंकसँग वित्तीय साक्षरता, कर तथा लेखाको अभिमुखीकरण गर्ने सहमति भएको जानकारी दिए । कार्यक्रममा चार्टर्ड एकाउन्टेन्ट निश्चल ढकालले कर र लेखा सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा पोखरा महिला चेम्बर अफ कमर्स कास्की अध्यक्ष गीता तिवारी गौतम, बैंकको गण्डकी प्रदेश प्रमुख रवीन्द्र केसी लगायतले बोलेका थिए ।