धादिङवासी स्वाभिमानी, इमान्दार र मेहनती हुनुपर्छ : ढुंगाना

धादिङ–पोखरा सम्पर्क समाजको २१ औं साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै धादिङ नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाले समाजमा आवद्ध कसैले पनि अबदेखि यो पार्टी र त्यो पार्टी नभन्न आग्रह गरे ।

समाजका आजीवन सदस्य समेत रहेका मेयर ढुंगानाले भने, ‘समाज स्वार्थसहित, राजनीतिक गन्धरहित पवित्र संस्था हुनुपर्छ । त्यसैलै अबदेखि समाजभित्र बसेर राजनीतिक पार्टी नभनौं ।’

उनले समाजभित्र बसेर राजनीति गरियो भने मानिस मर्दा पनि राजनीति हुन सक्नेप्रति सचेत समेत गराए । मेयर ढुंगानाले आफू एउटा पार्टीबाट चुनाव जिते पनि मेयर बनिसकेपछि राजनीति भनेर नहिंडेको बताए ।

‘मसंग एउटा पार्टीको आस्था छ, हामी सबैसंग पनि त्यो आस्था हुनु स्वभाविक पनि हो’, उनले भने, ‘हामी जनप्रतिनिधि र समाजसेवीले राजनीति आस्था र विचार त्याग्न आवश्यक छ ।’ धादिङवासी स्वाभिमानी, इमान्दारी र मेहनती हुनुपर्नेमा उनले जोड दिए ।

साथै उनले धादिङवासीले सहकारी स्थापना गरेर आत्मनिर्भर बन्नुपर्ने भन्दै सहकारीमा आफूले पनि लगानी गर्नेै प्रतिवद्धता जनाए ।

आफ्नो अधिकांश भाषण नीलकण्ठ नगरपालिकामा केन्द्रित गरेपछि कार्यक्रममा सहभागीबाट विरोध समेत भएको थियो । उनले नीलकण्ठ नगरपालिका प्रायःजसो गतिविधिमा देशभरमै उत्कृष्ट रहेको बताए । उनले नीलकण्ठले सबैभन्दा पहिले मोवाइल एप बनाएर देशभरमा तरंग ल्याएको र अहिले धेरै स्थानीय तहले एप बनाएर आफ्नो गतिविधि सार्वजनिक गरेको बताए ।

उनले संघीय सरकारले दिएका केही कानून अझै पनि स्थानीय तहले कार्यान्वयन गर्न नपाउँदा समस्या भएको भन्दै इतिहासकै बलियो सरकार भ्रष्टाचार र दण्डहीनतामा चुर्लुम्म पौडी खेलिरहेको आरोप लगाए ।

नीलकण्ठका सडक र खानेपानीमा सोचेअनुसार प्रगति गर्न नसके पनि सुधारको प्रयास भइरहेको बताए । नपाका प्रत्येक वडामा २ करोड ८ लाख रुपैयाँ सडककै लागि छुट्याएको जानकारी दिंदै उनले भने, ‘अब पनि तपाइँको घर छेउको बाटो सुधार नभए सम्बन्धित व्यक्तिसंग जवाफ खोज्न र उत्तर नपाए मलाई सम्पर्क गर्नुहोला ।’

नीलकण्ठको रिंगरोड अबको आवभित्र तयार हुने भन्दै उनले अबको १ वर्षभित्र नपाभित्र कुनै पनि काठका पुल देख्न नपाइने स्पष्ट पारे ।

पाल्पाली समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले धादिङ–पाल्पा समाजबीचको सम्बन्ध निकै समुधर रहेको भन्दै पाल्पा र धादिङको संस्कृति, रितीरिवाज बीच प्रचार गर्न सके महत्वपूर्ण हुने बताए ।

धादिङ र पाल्पावासी बीचको पुल समाज भएको भन्दै उनले समाजमार्फत भावनात्मक एकता प्रगाढ बनाउन आवश्यक रहेको बताए ।

समाजका पूर्व अध्यक्ष डा. ठाकुर सिलवालले समाज अघि बढाउन निकै संघर्ष गर्नुपरेको स्मरण गर्दै अहिले समाज यो अवस्थामा आइपुग्दा गर्वले छाती निकै चौडा भएको बताए ।

समाजका पूर्व अध्यक्ष हरि अर्यालले समाजभित्र कसैले राजनीति गर्न आवश्यक नभएको भन्दै चुनावमा भएको सामान्य राजनीतिलाई भुलेर अघि बढ्नुपर्ने खाँचो औंल्याए ।

समाजका निवर्तमान अध्यक्ष युवराज खतिवडाले धादिङको शिक्षा लगायतका क्षेत्रमा समाजले निकै उल्लेखनीय काम गरे पनि त्यसमा धादिङकै स्थानीय तहको सहयोग नपाउनु विडम्वना भएको बताए ।

समाजका संस्थापक सचिव रामकृष्ण दुवाडीले धादिङवासीबीच भावनात्मक एकता भएमात्रै समाज गतिशील बन्ने स्पष्ट पारे ।

समाजका सल्लाहकार लालप्रसाद पाठकले धादिङवासीले पहिला आफू, घर परिवारलाई सोच्नुपर्नेमा जोड दिंदै त्यसपछि मात्र समाज र राजनीति सोच्नुपर्ने बताए ।

समाजका कार्यसमिति सदस्य माधव लम्सालले समाजलाई गतिशील बनाएर अघि बढाउन सबैले हातेमालो गर्न आवश्यक रहेको बताए ।

समाजका अध्यक्ष कृष्णबहादुर लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मोहन पण्डितले स्वागत, महासचिव रामप्रसाद पाण्डे राजुले सञ्चालन र कार्यक्रम संयोजक सरस्वती श्रेष्ठ सरुले कार्यक्रमबारे जानकारी गराएका थिए ।

उक्त अवसरमा महासचिव रामप्रसाद पाण्डे राजु र कोषाध्यक्ष रामकुमार घिमिरेले पेश गरेको प्रतिवेदन साधारणसभाले पारित गरेको थियो ।

कार्यक्रममा समाजको विभिन्न गतिविधिमा संयोजक भएर महत्वपूर्ण भूमिका निर्वाह गर्ने कृष्णकुमार श्रेष्ठ, लुमडि प्रसाद अगस्ती, हरि अधिकारी, युगमराज अगस्ती, मोहन पण्डित, रामकुमार घिमिरे र कमलबहादुर सापकोटालाई सम्मान गरिएको थियो ।

यसैगरी कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट अंक हासिल गरी उत्तीर्ण हुने धादिङ त्रिपुरासुन्दरी–६ की सुरुती पाण्डेलाई पनि उक्त अवसरमा सम्मान गरिएको थियो ।