ताजा समाचार

असाेज ३ गते २०७६

राजनीतिकर्मी ठेकेदार बने, ठेकेदार राजनीतिज्ञ

कर्मचारी खराब भन्दै विगतमा राजनीति भयो, कर्मचारीलाई पनि राजनीतिमा होमियो। पुलिसलाई राजनीतिकरण गरियो, राजनीतिलाई एनजिओकरण गरियो, एनजिओलाई राजनीतिक आर्थिक श्रोताधार बनाईयो । राजनीतिकर्मी ठेकेदार बने, ठेकेदार राजनीतिमा लागे ।

दलीय ट्रेड युनियनमार्फत मजदूर वर्ग राजनीतिकृत भए। पेशागत संगठन- प्राध्यापक, ईन्जिनियर, चिकित्सक, वकिल र पत्रकार सबै राजनीति गर्दै दलीय प्यानल बनाउदै चुनाव लडे, कोही संगठनमा, कोही सांसद मन्त्री राजनीतिक पदमा ।विद्यार्थी कालमा राजनीति गरेका वा पेशाबाट राजनीतिक पक्षपोषण गरेका राजनीतिमा सक्रियहरू अदालतका न्यायाधीशमा हुलिदै गए। । यी सबका सब राजनीति गर्न थाले। पेशागत नैतिकता र न्युट्रालिटी सखाप हुदै गरेर मुलुकमा एड्सरोग लाग्न पुगेको छ। रोग प्रतिरोधक क्षमता शून्य भएको छ। जे गरे पनि सन्चो नहुने रोगले गॉजेको छ ।

यसरी सरकार रन्थनिएर अव्यावहारिक, अपाच्य, संस्कृतिअमैत्री, समाज व्यवस्था बिखण्डिकरण गर्ने कडाकडा कानुन पास गर्दैछ । यसरी आफ्नै पासोमा आफू र सोझा जनतालाई झनझन् फसाउदै छ । आज जे छौं यो हिजोको हाम्रा कुकर्मको नतिजा हो, लरोतरो ओखति र शल्यक्रियाले निदान हुन सक्ने अवस्था हैन । मुलुकको सुगर र प्रेशर असंतुलीत हुन पुगेकोले अलि कडा औषधी चलायो भने रोगी नै मर्न सक्छ । रोगीको यो हालत देखेर ‘अत’हरू हौसिएका देखिन्छन्, फट्यांग्राले लात हान्ने ऑट गरेको देखिन्छ । पहिले पहिले संस्कृति, संस्कार, नैतिकता, लोकलाज, धर्म , पुण्यपाप, कानुनको पालनाले समाज स्थीर र अपराध नियन्त्रण हुदै गएकोमा अहिले यी पनि ध्वस्त भएका छन्। राजनीति र सरकारबाट जनताको कडी टुटेको छ। जनताले चुनावमा जिताए पनि जित्नेप्रति जनताको विश्वास हराईरहेको छ ।

सरकार र जनता प्रतिद्वन्दि जस्ता देखिदै आएको छ । सरकार जनपीडक वर्ग हो, शोषक हुन् भन्ने भावना सर्वसाधारणमा बलवान् हुदै गएको छ । नेताको क्रेडिबिलिटी पनि खत्तम छ । सुशासनका निम्ति संबैधानिक अंगहरू सुतेका जस्ता छन्, सायद ती राजनीतिकै छाया हुन्, त्यहॉ सुधार गर्न सरकारको अधिकार क्षेत्रमा पर्दैन । पुलिस, प्रशासन निरीहहरूलाई समातेर आफ्ना उपलव्धि देखाउन मै रमेका देखिन्छन्। ती त सोसल मिडियामा लेखेको, शेयर गरेको, पार्कमा युगल जोडी प्रेमालाप गर्दा, होटल-होटेल क्लबमा नाच्नेहरूलाई समातेर ब्लेकमेल गर्दैमा फुर्सत पाएका हुन्नन् ।

समबेदना र मानवता कुन चराको नाम हो, पुलिस र प्रशासनलाई मतलब छैन । कार्य र क्रियाबीचको सुस्पष्ट सम्बन्धको नमूना हाम्रो मुलुक नै हुनसक्छ । कुन चोरले कुन चोरलाई समाउदै सुशासन देला भनेरै जनता दिउसो तारा गनिरहेका छन् ।


Loading...