डेंगु सबैको चुनौती : जीवन

गण्डकी प्रदेशका सांसद रामजीप्रसाद बराल जीवनले डेँगु रोगको सबै पक्षको साझा चुनौती भएको बताएका छन् । प्रदेश सरकारले महानगरका ३३ वटै वडामा सञ्चालन गरेको नियन्त्रण कार्ययोजना कार्यान्वयनका लागि पोखरा महानगरपालिका वडा नं ८ मा आयोजित कार्यक्रममा उनले व्यक्ति, परिवार, राजनीतिक आस्था जाती भनेर डेँगुले कसैलाई पनि बाँकी नराख्ने भएकाले व्यक्ति, परिवार तथा समाज संगठित रुपमा नियन्त्रणका लागि अग्रसर हुनुपर्ने भनाइ उनको छ ।

डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि पोखरा महानगरका ३३ वटै वडामा मन्त्री तथा प्रदेशसभा सदस्यलाई सहजकर्ताको जिम्मेवारी तोकेर सामाजिक विकास मन्त्रालयले नियन्त्रण कार्ययोजना निर्माण गरको जानकारी दिँदै सांसद बरालले दिनप्रतिदिन डेङ्गु घटेको छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने आवश्यकता औंल्याए ।

सरकारले तोकेका वडा नं ८ का सहजकर्ता समेत रहेको बरालले सरकारले घोषणा गरेको आन्तरिक भ्रमण वर्ष तथा नेपाल भ्रमण वर्षलाई समेत डेँगुले प्रभावित गरेको भनाइ राख्दै नियन्त्रणका लागि सरकारले आवश्यक सुरक्षा उपकरण उपलव्ध गराउने प्रतिवद्धता जनाए ।

वडाध्यक्ष रुद्रनाथ बरालले वडा नं ८ बाटनै साउन १३ गतेबाट फैलिएको डेँगुबाट सबैभन्दा बढी यहीका वडाबासी पीडित भएको बताउँदै वडाले खोज र नष्ट गरको अभियान सञ्चालन गरेकोमा प्रदेश सरकारले समेत सहयोग पु¥याएकोमा डेँगु नियन्त्रणका लागि सहज हुने बताए ।

वडाध्यक्ष बरालले केही दिनमानै वडामा गरिने कार्ययोजना सार्वजनिक गरेर संघसंस्था, विद्यालय सबैलाई परिचालन गरिने बताए । कार्यक्रममा सहभागिहरुले गोष्ठी तथा अन्तरक्रियामा भन्दा पनि प्रत्यक्ष फिल्डमानै गएर नियन्त्रण कार्ययोजना कार्यान्वयन गर्न माग गरे । महानगरका स्वास्थ्य संयोजक हेमन्त शर्माले डेँगुबाट गण्डकी प्रदेशमा हालसम्म १ हजार ८ सय ५३ जनामा सङ्क्रमण देखिएको बताए ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ‘घर परिवार र सम्पूर्ण समूदायको सहभागिता, डेङ्गु मुक्त गण्डकी प्रदेश हाम्रो प्रतिवद्धता’ भन्ने नारा सहित वडास्तरमा कार्ययोजना निर्माण गरेर नियन्त्रणको अभियान शुरु गरेको छ ।

प्रत्येक वडामा नियन्त्रण कार्ययोजना निर्माण गरेर विभिन्न सङ्घ संस्था, विद्यालय, स्वास्थ्य संस्था तथा वित्तिय संस्थाहरुको समेत सहकार्यमा खोज र नष्टको अभियान सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।