गण्डकीमा अल्जाइमर दिवस मनाइने

अल्जाइमर रोगबाट विश्वमा ४८ मिलियनभन्दा बढी मानिस पीडित छन् । यसबारे जनचेतना जगाउन हरेक वर्ष २१ सेप्टेम्बरमा विश्व अल्जाइमर दिवस मनाइन्छ । पछिल्ला केही वर्षदेखि नेपालमा पनि यो दिवस मनाउन थालिएको छ ।

यस रोगबारे सचेतना जगाउन र अल्जाइमरका रोगीहरुलाई उपचारको पहुँचमा पु¥याउन गण्डकी प्रदेशमा पनि यो दिवस मनाइने भएको छ । अल्जाइमर एक प्रकारको बिर्सने रोग हो । यसले स्मरण शक्ति, सोच्ने क्षमता लगायतमा असर पार्छ । यो रोग निको पार्ने औषधी पत्ता लागेको छैन ।
शनिबार दिवसको अवसरमा अल्जाइमरबारे प्रस्तुतिकरणसहितको सचेतना कार्यक्रम आयोजना गरिएको छ । सामाजिक विकास मन्त्रालयले आयोजना गर्ने कार्यक्रमको सहआयोजक राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ गण्डकी प्रदेश र संयोजन पोखरा वृद्धाश्रमले गरेका छन् ।

कार्यक्रममा प्राडा निर्मल लामिछाने र डा मिशान्त ढकालले अल्जाइमरबारे प्रस्तुतिकरण गर्ने छन् ।
पोखरा वृद्धाश्रमको २३ औं वार्षिक साधारणसभा तथा वृद्धाश्रमका संस्थापक अध्यक्ष ऋषिकेशव पराजुलीको स्मृति दिवस पनि शनिबारै हुने उपाध्यक्ष कुशुमकेशव पराजुलीले जानकारी दिए ।