पोखरा १७ का दलित समुदायलाई सशक्तीकरण र आयआर्जनमा संलग्न गराउन सिलाइकटाइ तालिम दिइएको छ । पोखरा वडा नं. १७ ले आयोजना गरेको ६ महिने तालिम बुधबार सकिएको छ ।
तालिममा पोखरा १७ का २१ जना सहभागी थिए । समापन समारोहमा वडाध्यक्ष तीर्थराज अधिकारीले सीप, क्षमता विकासबाटै मानिसको प्रगति र समृद्ध समाज निर्माण हुने बताए । उनले वडा र महानगरले आदिवासी, जनजाति, पिछडिएका वर्गको उत्थानका लागि विभिन्न कार्यक्रम गरिरहेको उल्लेख गरे ।
वडा सदस्य तारा सेवाले सीप सिक्नु, तालिम लिनुमात्र ठूलो कुरा नभएको उल्लेख गर्दै त्यसबाट आयआर्जन, आत्मनिर्भर बनी जीवनमा परिवर्तन गर्नुपर्ने बताइन् । उनले समाजमा दलित समुदायलाई हेर्ने दृष्टिकोणमा अझै पूरै परिवर्तन आइनसकेकाले त्यसलाई हटाउन दलित समुदाय र राज्य सञ्चालकको विशेष भूमिका रहने उल्लेख गरिन् ।

दलित एकता समिति छोरेपाटनले समन्वय गरेको कार्यक्रम संस्थाका अध्यक्ष कृष्णबहादुर नेपालीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष देवबहादुर विक र प्रशिक्षार्थी सम्झना विश्वकर्माले पनि बोलेका थिए ।






